प्रदेश २ सामाजिक वितृष्णा र जातीय विभेदमा अगाडि : मन्त्री यादव



पर्सा : नेपाल सरकारका उपप्रधान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश-२ सामाजिक वितृष्णा र जातीय विभेदमा अगाडि रहेको बताएका छन्। कर्मचारी संयन्त्रले वीरगन्ज महानगरपालिका हाँकेको समयमा निर्माण थालनी भएको सुविधा सम्पन्न वीरगन्ज बसपार्कको नवनिर्मित बस टर्मिनलको मंगलबार यहाँ उद्घाटन गर्दै स्वास्थ्य मन्त्री यादवले यस्तो बताएका हुन्। ‘मानवीय सूचकांकमा हरेक पक्षमा पछि रहेको प्रदेश-२ सामाजिक वितृष्णा र जातीय विभेदमा भने अगाडि रहेको छ’, उनले भने। शिक्षा, स्वास्थ्यलगायत मानवीय सूचकांकमा पछाडि रहेको प्रदेश-२ का जनताको साविकको सोचले मात्र विकास र समृद्धि सम्भव छैन।


‘अब चिन्तनमा नै बदलाव गर्नुपर्छ’ उनले भने ‘ठूला भवन निर्माण हुनु, भौतिक सुख सुविधा थपिनु मात्र विकास होइन। स्तरीय चिन्तनको बदलाव हुनु मुख्य विकास हो।’ गणतन्त्रलाई दोष देखाइ संघीयता र गणतन्त्रमाथि नै ग्रहण लाग्न थालेको उनले बताए। उनले यस्तो समयमा भौतिक विकासका लागि वीरगन्ज महानगरपालिकाले दीर्घकालीन रूपमा माष्टर प्लान बनाएर त्यसैअनुरूप अगाडि बढ्न आग्रह गरे। कहाँ शिक्षा, स्वास्थ्य, उद्योग र आवास निर्माण गरिने हो? त्यसैअनुरूप अगाडि बढ्नु पर्ने उनले वीरगन्ज महासनगरको नेतृत्वलाई सुझाए। उनकै पार्टीका तर्फबाट वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बनेका विजय कुमार सरावगीतर्फ इंगित गर्दै उनले अब इमान्दारिता साथ विकास गर्नुको विकल्प नभएको बताए। ‘हरेक कुरामा योगदान गरेको वीरगन्ज महानगरमा अब काम गरेर देखाउने समय आएको छ। जनताले प्रदेश सरकार, स्थानीय सरकार आफ्नै पार्टीको देखिरहेका छन्।

यो सयमा पनि काम नभए पार्टीको प्रतिष्ठा नरहने घुमाउरो पाराले बताउँदै स्वास्थ्य मन्त्री यादवले अब ‘बहानावाजी’ ले मात्र चल्दैन,’ उनले भने। शहरी विकास मन्त्री इस्तियाक राइनले पनि हरेक पक्षमा योगदान दिएको वीरगन्जको हितमा २ हजार मानिस अट्ने सभाहलका लागि ठूलो बजेट दिने बताए। ‘४५ करोड रकम वीरगन्जका लागि छुट्याएको छु’ उनले भने। कार्यक्रममा प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले हरेक समस्या निरुपणमा तिनै थरी सरकारको सहकार्य चाहिने बताए। उनले गर्नुपर्ने काम धेरै रहेको भन्दै प्रदेश सरकारले मात्र गर्न नसक्ने संकेत गरे। नगरविकास कोषको सहयोगमा १५ करोड ७० लाख ८६ हजार ८४१ रुपैयाँमा पाँच विगाहा बढी क्षेत्रफलमा निर्माण भएको सुविधा सम्पन्न बसपार्कको उद्घाटन पछि मन्त्री यादवले सम्बोधन गरेका हुन्।

२०७१ साल माघ २२ गतेबाट आसिस पप्पु रोशन जेभीले निर्माण थालनी गरेको बसपार्कको नवनिर्मित बस टर्मिनल निर्माणमा वीरगन्ज महानगरपालिकाको २ दशमलब ५ प्रतिशत लगानी लागेको कार्यालयले जनाएको छ। बसपार्कको टर्मिनल निर्माण सम्पन्न हुने मिति भने ०७५ मंसिर २९ को थियो। तर, पूर्ण काम सम्पन्न भने बल्ल सकिएको बस व्यवसायीहरूले बताए। मन्त्री यादललगायतका नेताहरूले वीरगन्जको छपकैयामा असारमा निर्माण सम्पन्न भएको फोहोर पानी प्रसोधन केन्द्रको पनि उद्घाटन गरेका छन्। यो केन्द्रको योभन्दा अगाडि नै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले नै उद्घाटन गरिसकेका थिए।

अहिले पार्टीका शीर्ष तहका नेताहरु वीरगन्ज आएको समयमा जनप्रतिनीधि आएपछि ल्याइएको कुनै योजना सम्पन्न नभए पनि सम्पन्न हुन थालेका पुराना योजनालाई जनप्रतिनीधिले जनतालाई देखाउन चर्चा बटुल्ने प्रयास गरेको स्थानीय बताएका छन्। पुराना योजनालाई जनप्रतिनिधिले आफूले गरेको काम भनी जस लिन यसो गरेको उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close