रौतहट कारागारबाट एक कैदी फरार

मेरो प्रदेश सम्वाददाता
रौतहट
अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका एकजना कैदी बिजुलीको लाइन गएको मौका छोपी कारागारबाट फरार भएका छन्। फरार हुनेमा
रौतहट गढीमाई नगरपालिका १ घर भएका २८ वर्षीय अशोक यादव रहेका छन । यादव आइतबार राति ८ बजे बिजुलीको लाइन कटिएको मौका छोपी फरार भएका हुन । बिजुलीको लाइन गएको र ढोकामा कार्यालय सहयोगीले ताल्चा लगाउन बिर्सेको मौका छोपेर यादब फरार भएका छन । सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा १५ बर्षको सजाय तोकिएर एकसाता अघि मात्रै कैद भुक्तानका लागि उनलाई गौर कारागार ल्याइएको थियो। कारागारमा कैदी गणनाको समय यादव फरार भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। कारागारभित्रै कैदीले बनाउने बाँसको मुढा राखेर पर्खालमा चढी हामफालेर भागेको प्रहरीको अनुमान छ। उक्त स्थानमा फरार कैदी अशोक यादवको चप्पल र टोपी कारागार प्रशासनले राति नै बरामद गरेको छ। कैदी फरार भएलगत्तै गौरको चारै नाकामा कडाइका साथ प्रहरीले चेकजाँच गरेको छ। यसैबीच कैदी फरारको बारेमा अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत किरननिधि तिवारीको अध्यक्षतामा तीन सदस्सीय छानबिन टोली गठन गरेको छ। छानबिन टोलीमा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नविनकुमार सिंह र राष्ट्रिय अनुुसन्धानका प्रतिनिधि मायाशंकर रहेका छन्।