घरमै भत्ता पाएपछि गौरीवासका वृद्धवृद्धा दङ्ग



बर्दिवास
कोभिड–१९ सन्त्रास छल्न जारी लकडाउनमा बेखर्ची भएका महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीवासका वृद्धवृद्धा अहिले घरमै सामाजिक सुरक्षाभत्ता पाएर दङ्ग छन् ।


रकमको अभावमा आफ्ना रहर र आवश्यकता पूरा गर्न नपाएका यहाँका वृद्धवृद्धामा वडा समितिको कार्यालयले घरघरै पुगेर भत्ता दिन थालेपछि खुशी छाएको हो । ‘छोराछोरी लकडाउनले बाँधिएर रहे, कतै कमाउने ल्याउने कुरो रहेन,’ लकडाउनको परिवेश सम्झँदै बर्दिवास–३ गौरीडाँडाकी ६५ वर्षीया अणदेवी शाहीले भनिन, ‘यसै बेखर्ची भएर टोलाइरहेका बेला वडाध्यक्ष र सचिवले घरमै चार महिनाको एकल महिला भत्ता ल्याइदिनुभयो, अब अलीबारलाई सानातिना खर्च टार्नसक्ने भइयो ।’

एकल महिला शाहीले गत मङ्सिरदेखि फागुनसम्म चार महिनाको मासिक रु दुई हजारका दरले अहिले रु आठ हजार पाएकी छिन् । वडासमितिले चालू आर्थिक वर्ष २०७६÷७७ को दोस्रो चौमासिकअन्तर्गत चार महिनाको सामाजिक सुरक्षा रकम घरघरै पुगेर वितरण गरिएको जनाएको छ । ‘जारी लकडाउनले अन्य धेरैजसो निर्माण काम अघि बढ्न सकेनन’, बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाले भने, ‘यस्तो बेला वृद्धवृद्धा, एकल महिला, ज्येष्ठ दलित र अपाङ्गता भएकालाई घरमै रकम र्पुयाइदिनसके राहत हुने ठानेर बाँड्न शुरु र्गयौँ ।’

गौरीवासको लम्बाइमात्र २० किलोमिटर र बस्तीहरु १० भन्दा बढी छन् । सबै बस्तीका सामाजिक सुरक्षाभत्ता पाउनेका घरघरै पुगेर वितरण गर्दा एक साता लाग्ने वडासचिव सन्तोष बराल बताउँछन् । चुरे काछको पर्साहीधापदेखि बर्दिवासचोकसँग साँध जोडिएको बर्दिवास–३ मा सामाजिक सुरक्षाभत्ता पाउने एक हजार ३९ जना रहनुभएको वडा कार्यालयले जनाएको छ ।

चैतमा बाँडिनुपर्ने रकम यसपालि चैत दोस्रो सातामै लकडाउन शुरु भएपछि वृद्धवृद्धा अब रकम कहिले पाइने भन्ने चिन्तामा थिए तर वडा समितिको कार्यालयले वैशाख निगल्दो घरघरै रकम र्पुयाइदिन थालेपछि वृद्धवृद्धाको चिन्ता हटेको छ । ‘ए हजुर बेलाको कुरो हुँदोरहेछ’ मासिक भत्ता रु तीन हजार पाउने ८० वर्षीय ज्येष्ठ नागरिक गौरीडाँडाका इखबहादुर दर्नालले भने, अहिले अप्ठ्यारो बेलामा घरमै रकम पाएपछि के–के न पाएजस्तो भयो नि ! ।

अहिले भत्तावापत रु १२ हजार पाएका दर्नालले लकडाउनमा खान बिस्कुट र दूधको जोहो भएको बताए । भत्ता हात परेपछि यहाँका वृद्धवृद्धाले खिर खाने, मासु खाने र नयाँ लुगा जोड्ने रहर पनि लकडाउनभित्रै पूरा गरेका छन् । ‘मैले त नयाँ लुगा पनि मगाएँ, दूध किनेर खिर पनि परिवारसाथ खाइयो’, गौरीवास कालापानीकी ७५ वर्षीया ज्येष्ठ नागरिक महाकाली विश्वकर्माले भनिन्, ‘अब आफ्नै बस्तीमा खसी काटेका दिन मासु खाइन्छ ।’

गौरीवास पाटुका ७८ वर्षीय बिन्दबहादुर विकले पनि अहिले पाएको भत्ता रकमले मिठाइ खान मन भएको बताए । आफ्नै नाउँको रकम ल्याइदिएको भए पनि खाँचोको बेलामा पाउँदा वृद्धवृद्धाको अनुहारमा अहिले खुशी देखिएको हो । वडाभरिका भत्ता पाउने एक हजार ३९ मध्ये २५० जनालाई रकम घरमै र्पुयाइसकिएको वडासचिव बराल बताउँछिन् । जेठ पहिलो साताभित्र सबैलाई घरघरै भत्ता र्पुयाइने वडा समिति कार्यालयको तालिका छ ।

बर्दिवास–३ मा थालिएको यो कामबारे छिमेकका धनुषा जिल्लाको मिथिला नगरपालिका, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका र आफ्नै नगरका अन्य वडा बस्तीमा सकारात्मक चासो बढेको छ । लकडाउनका बेला सुरक्षाका उपाय अपनाएर वृद्धवृद्धालाई उनीहरुले पाउने रकम घरघरै र्पुयाइने प्रबन्ध सबै वडाले गरिदिन पर्ने नेपाली काँग्रेस बर्दिवास नगर समितिका सभापति बाणिकराज काफ्ले बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button