प्रदेश नं २ मा स्वाब सङ्कलनमा तीव्रता



धनुषा
प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचार गर्ने उद्देश्यका साथ स्वाबको नमूना सङ्कलन कार्य तीव्ररुपमा शुरु भएको छ । प्रदेश २ मा अहिलेसम्म ३० जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । सवैभन्दा बढी वीरगञ्जस्थित छपकैयामा एउटै परिवारका १७ जनामा कोरोना पुष्टि भएको हो ।


प्रदेशमा काठमाडौँबाट भिटिएमसहित जनशक्तिको टोली आइरहेको छ । सो जनशक्तिका साथै प्रदेशका स्वास्थ्यकर्मीले शनिबार र आइतबार स्वाबको नमूना सङ्कलन कार्यमा थप तीव्रता दिने समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

प्रदेशमा आजसम्ममा पिसिआर प्रविधिबाट तीन हजार १७३ को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये दुई हजार ३९३ को रिपोर्ट नेगेटिभ आएको र ७५० को रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३० जना सङ्क्रमित भएका छन् । सोमध्ये २८ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको सचिव डा घिमिरेले जानकारी गराए ।

प्रदेशअन्तर्गतका आठवटा जिल्लाका विभिन्न क्वारेन्टाइनमा एक हजार ३८९ बसेका छन् भने चार हजार ६६६ होम क्वारेन्टाइनमा र ४१ जना आइसोलेसनमा छन् ।

विभिन्न सामग्री प्रदान

कोरोना भाइरस रोकथाम तथा उपचारमा सहयोग गर्ने उद्देश्यले विभिन्न संस्थाबाट उपचारलगायतका सामग्री उपलब्ध भइरहेको छ । सोअन्तर्गत सेभ द चिल्ड्रेनले आज प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई २६३ थान पिपिई सेटलगायत आवश्यक सामग्री हस्तानान्तरण गरेको छ ।

सो अवसरमा मन्त्री साहले सेभ द चिल्ड्रेनले प्रदान गरेको उपचार सामग्रीले कोरोनाको रोकथाममा प्रदेश सरकारले सञ्चालन गरेको प्रवद्रधनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो संस्थाका पूर्वाञ्चल फिल्ड सह–निर्देशक अजयकान्तले सामाग्री हस्तानान्तरण गर्दै आफ्नो नियमित र ग्लोबल फण्डको परियोजनाबाट उपलब्ध गराएका पिपिई विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसार रहेको बताए ।

यसका साथै, युनिसेफले प्रादेशिक अस्पताल जनकपुर र गजेन्द्रनारायणसिंह अस्पताल सप्तरीलाई एक–एक थान ४२ मिटरको टेन्ट र वीरगञ्जस्थित नारायणी अस्पताललाई २४ मिटरको दुई थान टेन्ट उपलब्ध गराएको समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी गराए ।

त्यस्तै, युनिसेफले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, सिरहा अस्पताल, महोत्तरीस्थित जलेश्वर अस्पताल रौतहटस्थित गौंरी अस्पताल र विरगञ्जस्थित नारायणी अस्पताललाई हाइजनकीट, जर्किन, झुल, कम्बललगायतका सामग्री उपलब्ध गराएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button