होली पर्व नजिकिदै जाँदा महोत्तरीको गाउँ गाउँमा ‘जोगिरा’ गीत गाउन शुरु



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
होली पर्व नजिकिदै जाँदा महोत्तरीको गाउँगाउँमा ‘जोगिरा’ गीत गाउन शुरु भएको छ । महोत्तरीमा १० नगरपालिका र ५ गाउँपालिकाको प्रत्येक घर ,गाउँ टोलमा केहिदिन यतादेखीनै ढोल, तासा, मृदङ्ग, डम्फु, झ्याली सहितका बाजागाजाका बजाउँदै जोगिरा गाउन शुरु गरिएकोहो ।
जोगिरा गाएर होली पर्वलाई निम्तो दिँदै हरेक गाउँ टोलका युवा, वृद्ध र वयस्कहरुको टोलीले छुट्टाछुट्टै जोगिरा गाउन शुरु गरेका छन । उनिहरुले विभिन्न किसिमका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दलाई लयमा ढालेर जोगिरा गाउने गरेको देखिएको छ ।
होलीको अवसरमा जोगिरा गाउनकै लागि युवा देश बिदेशबाट आ–आफ्नो गाउँ फर्किदै छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि सुत्न नसक्ने बनाएको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलिया वैद्यनाथ चौधरीले बताए ।
जोगिराले एक आपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध कायम राख्ने भएकाले गाउँका स्थानियहरु रातिको समयमा चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर गाउने गरेको पाईन्छ । मिथिलाञ्चल सहित महोत्तरीको गाउँगाउँमा शुरु भएको जोगिरा गायन होली पर्वको अघिल्लो रातिसम्म गाईन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button