सर्लाहीमा जंगली जनावरले बाली नष्ट गर्दा किसान चिन्तित



रितिक अधिकारी
सर्लाही
सर्लाहीको आधा दर्जन स्थानमा किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्दै आएको छ। जिल्लाको लालबन्दी,रानिगन्ज , ईश्वरपुर, हरिवन, हरिपुर, बरहथवा, लगायतका स्थानमा किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्दा त्यस भेगका किसान जंगली जनावरबाट पीडित भएका छन्।
जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली जनावर पसेर बाली नास गर्ने गरेको स्थानीय किसान नानी बाबु खड्काले बताइन्। ‘जंगलको छेउमा खेत छ,’ उनले भनिन, ‘जे लगाए पनि जंगली जनावरलाई ठिक्क, बाली त उठाउनै पाइँदैन।
दिउँसो भरि रुगेर बस्ने गरे पनि जनावर रात परेपछि बालीमा पस्ने गरेको हरिपुर–१ जानकी नगरका किसान राधिका पोखरेलको भनाई छ । जंगली जनावरले बाली सखाप पार्न थालेपछि किसानहरुले बाली जोगाउन तारबार गर्न थालेको पोखरेलले बताईन । मूर्तिया जंगलको नजिक रहेको खेतबारीमा लगाएको मकै, आलु बालीमा नीलगाई, बाँदर, हरिण, बँदेल, दुम्सीलगायत जंगली जनावर पसेर बाली नष्ट गरेको उनको भनाइ छ। जंगली जनावरले बालीमा क्षति गरेका भन्दै डिभिजन वन कार्यालयमा पटक पटक उजुरी गर्दापनी कुनै सुनुवाइ नभएको किसानहरुको गुनासो छ।
यस क्षेत्रमा वर्षौदेखि जंगली जनावरले दुःख दिँदै आएको छ। जंगली जनावरबाट हुने क्षति रोक्न स्थानीयवासीले प्रतिकठ्ठा जग्गा भएका धनीलाई ५०० रुपैयाँका दरले रकम उठाएर तारजाली लगाएका छन्। तारजाली लगाएपछि जंगली जनावरबाट हुने क्षति केही कम भएको किसाहरु बताउँ छन । बाली नष्ट गरेपछि जंगली जनावर नियन्त्रणको नाममा अवैध वन्यजन्तुको चोरी सिकारी बढेको स्थानीयको भनाइ छ। रातको समयमा जंगली जनावरले बालीनालीमा बढी नोक्सान पु¥याउने भएकाले सोही समयमा शिकार खेल्ने समूह बढेको वागमती नगरपालिका–१० का शेष मुर्तुजाले बताए।
बरहथवा, हरिपुर, वागमती, लालबन्दी रानिगन्ज र ईश्वरपुरको वनक्षेत्रमा अवैध हतियार, करेन्ट र जालको प्रयोग गरी जंगली जनावर चोरी शिकार भइरहेको स्थानीयहरु बताउँछन्। डिभिजन वन कार्यालयको बेवास्ताका कारण वन क्षेत्रमा पर्ने जानकीनगर, शंकरपुर, फुलजोर, सागरनाथ, हजरिया, राजघाट घुर्कौली चुरेक्षेत्र लगायतको स्थानमा बँदेल, हरिण, नीलगाई, दुम्सी, मृगलगायत वन्यजन्तुको अवैध चोरी शिकारी बढ्दै गइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button