उधारोमा बाँडेको राहत राज्यमन्त्रीले नै पाएनन् ७० लाख



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले ७० लाख रुपैयाँ भुक्तानी नपाएका भन्दै गुनासो गरेका छन्। गत असार र साउनमा महोत्तरीका बाढी प्रभावितलाई राज्यमन्त्री कुशवाहाले एक करोडभन्दा बढीको राहत उधारो खरिद गरी वितरण गरेका थिए। त्यसमध्ये उनले मात्र साढे २८ लाख रुपैयाँ भुक्तानी पाएका छन्। करिब ७० लाख रुपैयाँ अझै बाँकी छ। बाढी प्रभावित प्रदेश २ का सातवटै जिल्लामा वितरण गरिएको राहत सामग्रीको भुक्तानी भइसकेपनी महोत्तरीमा वितरण गरिएको राहतको भुक्तानी कुशवाहाले पाएका छैनन । मुख्यमन्त्रीकै सल्लाहमा उनले खाद्यान र लत्ता कपडा पसलबाट उधारो लिएर राहत वितरण गरे पनि अहिले सम्म रकम भुक्तानी नपाएको राज्यमन्त्री कुशवाहाको गुनासो छ । उनले महोत्तरीका ३ हजार ८०० परिवारलाई राहत सामग्री वितरण गरेको सञ्चारकर्मी लाई बताउँदै उनले भने ‘दुई चरणमा राहत सामग्री वितरण गरेका थियौं,‘ ‘पहिलो चरणको ११ सय परिवारलाई बाँडेको राहतको भुक्तानी पाए। दोस्रो चरणमा २ हजार ७०० परिवारलाई दिएको राहतको भुक्तानी अझै पाएको छैन।’ त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव र अन्य कर्मचारीहरुले राज्यमन्त्री कुशवाहाले दाबी गरे अनुसारको राहत बाढी पीडितले नपाएको भन्दै भुक्तानी रोकेको बताएका छन । एक कर्मचारीले भने, ‘राहत वितरणमा भ्रष्टाचार भयो भनेर भुक्तानी रोकिएको हो। राज्यमन्त्री कुशवाहाले वितरण नै नगरेको सामग्रीको पनि बिल भर्पाई बनाएपछि भुक्तानी गर्न सचिवले मानेनन्।’ तर‚ राज्यमन्त्री कुशवाहा भन्छन, ‘भुक्तानी गर्ने समयमा विपद् व्यवस्थापन खातामा रकम थिएन। अहिले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पाँच करोड रुपैयाँ जम्मा भइसकेको छ। तर कर्मचारीले भुक्तानी दिन मानेका छैनन्।’तर कर्मचारी भुक्तानी गर्न मानेका छैनन्।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button