प्रधानमन्त्री निवास छेउमै बम भेटिनु ‘गुप्तचरी संयन्त्रको असफलता’



काठमाण्डू उपत्यका भित्रै विस्फोट हुनु र कडा सुरक्षा निगरानी हुने प्रधानमन्त्री निवास नजिकै बम फेला पर्नुलाई विज्ञहरूले ‘गुप्तचर र सुरक्षा संयन्त्रको असफलता’का रूपमा व्यख्या गरेका छन्।


बुधवार राति काठमाण्डूको नागार्जुन नगरपालिकास्थित एक व्यक्तिको घरमा एउटा बम विस्फोट भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै राखिएको अर्को बमलाई भने नेपाली सेनाले निष्क्रिय पारेको बताइएको छ।

दुवै घटनामा मानवीय क्षति नभए पनि नागार्जुन नगरपालिकास्थित बम राखिएको घरमा सामान्य क्षति पुगेको छ।

घटना विवरण

दुवै घटना बहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणसँग जोडिएको अधिकारीहरूले बताएका छन्।

नागार्जुनस्थित शोभाकान्त ढकालको घरको गेटैमा राखिएको बम विस्फोट हुँदा गेट ध्वस्त भएको प्रहरीले जनाएको छ।

विप्लवको विस्फोटनतस्वीर कपीराइटRSS

ढकाल ललिता निवास प्रकरणमा नाम मुछिएका व्यक्ति रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

महानगरिय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार विस्फोटनबाट उक्त घरसहित छिमेकमा रहेका केही घरका झ्यालका सिसा पनि फुटेका छन्।

बोगटीले भने, “बालुवाटारस्थित ललिता निवासमा पनि बम राखेको पाइएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गरेको छ। यी घटनालाई हामीले चुनौतीका रूपमा लिएका छौँ र नयाँ रणनीतिका साथ अनुसन्धान र खोजतलास गरिरहेका छौँ।”

घटनाको जिम्मा

ती घटनाहरूको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।

बालुवाटारस्थित ललिता निवासको जग्गालाई आफ्नो कब्जामा लिएको भन्दै उसले त्यस जग्गामा एउटा बोर्ड राखेको तथा पर्चाहरू छरेको खबरहरू पनि आएका छन्।

उक्त समूहले यसै साता मात्र राजधानी आसपासका विभिन्न क्षेत्रमा रहेका निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलका टावरहरूमा पनि त्यस्तै खाले विस्फोटन र आगजनी गरेको दावी गरेको थियो।

त्यो क्रम नरोकिएको भन्दै एनसेलले सरकारसँग सुरक्षाको माग गरेको छ।

विप्लवको विस्फोटनतस्वीर कपीराइटREUTERS

एनसेलले उक्त समूहले पत्र नै लेखेर धम्की दिएको जनाउँदै आफ्ना कर्मचारी र टावरको सुरक्षा गरिदिन माग गरेको हो।

त्यस्तो पत्र आएपछि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चार मन्त्रालयमार्फत् गृह मन्त्रालयमा सुरक्षा माग गर्दै पत्राचार गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।

उनले भने, “हामीलाई जानकारीमा आएपछि पत्राचार गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका हौँ।”

उनका अनुसार हालसम्म उक्त समूहले एनसेल कम्पनीका करिब ५० वटा टावरहरूमा हमला गरिसकेको छ।

यस्ता हमलाका कारण क्षति पुगेका र ती टावरसँग जोडिएका अन्य गरी एक सय ५० देखि दुई सय टावरहरू काम गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

गुप्तचर संयन्त्रको कमजोरी

राजधानी भित्र भएका विस्फोटन र एनसेलका टावरमा भएको हमलाबारे सुरक्षा निकायलाई पूर्व जानकारी नहुनुलाई विज्ञहरूले “गुप्तचरी र सूचना आदानप्रदान हुनुपर्ने निकायको कमजोरी” भनेका छन्।

त्यस्तै मध्येका एक पूर्व गृह सचिव सूर्य सिलवाल भन्छन्, “यो कुरामा तत्‌तत् निकायबाट सावधानी अपनाउनु पर्ने कुरा पुगेन जस्तो छ। गुप्तचरी संयन्त्रबाट र सूचना सङ्कलन हुनुपर्ने निकायबाट केही भएको देखिएन।”

विप्लवको विस्फोटनतस्वीर कपीराइटEPA

बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकै बम राख्न सकिने अवस्था आउनु भनेको निकै संवेदनशील कुरा भएको उनले बताए।

“त्यसको कारण भनेको विप्लव समूहले आफ्नो उपस्थिति देखाउन खोजेको जस्तो देखिन्छ। टावरहरू आक्रमण भएको स्थानमा पनि सुरक्षाकर्मी नजिकै रहेको देखिएकाले उसले चुनौती दिएको जस्तो पनि देखिएको छ,” सिलवालले भने।

तर यो समस्या सुरक्षाको मात्र नभइ राजनीतिक भएकाले त्यसलाई वार्तामार्फत समाधान खोज्नुपर्ने उनको तर्क छ।

“वार्ताबाट समाधान नखोजिए मुसा र बिरालोको खेलजस्तो हुन्छ। यसलाई सुरक्षाका हिसाबले मात्र हेरेर हुन्छ जस्तो लाग्दैन,” उनले भने।

सूचनाका लागि लगानी नहुँदाको प्रतिफल

नेपाल प्रहरीका अवकासप्राप्त प्रहरी नायब महानिरिक्षक हेमन्त मल्लले चाहिँ सरकारले सूचना प्राप्त गर्ने आधारहरू तयार नगर्दा र सूचनाका लागि लगानी नगर्दा यस्ता घटनाहरू भएको बताए।

उनी अहिले विप्लव समूहले नागरिकहरूलाई निराश बनाउने कुराहरूप्रति लक्षित आक्रमण गरेर जनमत हासिल गर्न खोजेको जस्तो देखिएको विश्लेषण गर्छन्।

“एनसेलमा करको विवाद छ अनि ललिता निवासमा जग्गाको, यस्ता विषयप्रति नागरिकहरू असन्तुष्ट देखिन्छन्। उनीहरूले त्यस्तै कुरामा हमला गरेर आफ्नो पक्षमा जनमत लिन खोजेको देखिन्छ।”

उनले प्रधानमन्त्री निवास छेउमा मानिसहरू समेत ठूलो सङ्ख्यामा भेला हुन नपाउने अवस्थामा बम नै राखिनु सुरक्षाका हिसाबले निकै ठूलो चुनौती भएको बताए।

विप्लवको विस्फोटनतस्वीर कपीराइटEPA

त्यसलाई “गुप्तचरी संयन्त्रको असफलता”का रूपमा लिनुपर्ने उनको भनाइ छ।

नेपालमा गुप्तचरी सूचना सङ्कलनमा रकम खर्चने चलन नरहेकाले पनि यस्ता चुनौती सामना गर्न समस्या पर्ने गरेको उनले बताए।

“सरकारले समयमै ध्यान दिएन भने सुरक्षा संवेदनशीलता बढ्ने मात्र होइन। केही सुरक्षा कारबाही गर्नुपर्दा पनि असहज स्थिति पैदा हुनसक्छ,” उनले भने।

उपत्यकामा विस्फोटन

सरकारद्वारा प्रतिबन्धित विप्लव समूहले राजधानीमा गत वर्षदेखि नै विभिन्न स्थानमा विस्फोट गराएको थियो।

झण्डै एक वर्षअघि ललितपुरको नख्खुमा उक्त समूहले गराएको विस्फोटमा एकजना व्यक्तिको ज्यान गएको थियो।

त्यसपछि करिब ८ महिनाअघि विभिन्न स्थानमा विस्फोटन गराउने योजना स्वरूप बम बनाउँदै गर्दा भएका दुईवटा विस्फोटनमा उक्त समूहका चारजना कार्यकर्ता मारिएका थिए।

त्यसबेला राजधानी र राजधानीसँग जोडिएको धादिङ जिल्लामा यी घटना भएका थिए।

त्यसपछि सरकारले विप्लव समूहका कार्यकर्ताहरूलाई पक्राउ गर्ने क्रम बढाएको थियो।

यसबीच विप्लव समूह सम्बद्ध सयौँ कार्यकर्ताहरू पक्राउ परिसकेको अधिकारीहरू बताउँछन्।   बि बि सी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button