इनरुवामा निःशुल्क खाना खुवाउने अभियान



इनरुवा नगरवासीको आयोजनामा सुनसरीको इनरुवा–४ मा रहेको बसस्टेन चोकमा बुधबारबाट निःशुल्क खाना खुवाउने अभियान सुरु भएको ।
पूर्वका विभिन्न शहर र बजारमा गरिब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो खाना खुवाउने होडबाजी चलिरहदा सुनसरीको इनरुवामा स्थानीयवासीले निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन् ।
अभियानका लागि सत्य यादवको संयोजकत्वमा स्थानीय समाजसेवी सम्मिलित १० सदस्यीय समिति गठन गरिएको छ । इनरुवा बसचोकमा सुरु गरिएको निःशुल्क भरपेट खाना कार्यक्रम तत्काल एक लाख रुपैयाँबाट थालिएको आयोजक समितिका संयोजक यादवले बताए ।
गरिब, असहाय, विपन्न र बेघर भएर सडकमा भौँतारिँदै दिन बिताइरहेका समुदायलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान सुरु गरिएको हो । प्रारम्भिक तवरमा तीन दिनका लागि भनी अघि सारिएको अभियानमा सहयोगी दाताको संख्या थपिन थालेकाले आफूहरुलाई हौसला मिलेको अभियानका संयोजक यादवको भनाइ छ ।
निःशुल्क खाना कार्यक्रममा पुग्ने जोकोहीले दाल, भात, अचार, पापड खान पाउनुका साथै निःशुल्क पानीसमेत पिउन पाउने आयोजकले जनाएको छ । इनरुवामा अभियानको उद्घाटन उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले गरेका थिए ।
रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button