किसानको रकम भुक्तानी दिन थालेपछि सर्लाहीको महालक्ष्मी सुगर मिल बुधबार देखि सञ्चालनमा

मेरो प्रदेश सम्वाददाता
सर्लाही
चिनी मिलले गत वर्षको बाँकी रकम किसानलाई भुक्तानी दिन थालेपछि सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा रहेको महालक्ष्मी सुगर मिल बुधबारदेखि सञ्चालनमा आएको छ ।
महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडियाले दुई दिनमा किसानको ११ करोड २६ लाख रूपैयाँ उनीहरुको बैंक खातमा हालिदिएका छन् । उद्योगले अबको एक साताभित्र किसानको बाँकी सबै रकम १० करोड भुक्तानी गर्ने पनि जनाएको छ । अघिल्लो वर्षको बक्यौता रकम पुरै भुक्तानी नदिएसम्म किसानले मिल सञ्चालन हुन नदिने अडान राख्दै आएका थिए ।
३१ हजार क्रसिङ क्षमताको मिलले अघिल्लो वर्ष ११ लाख २७ हजार ३९५ क्विन्टल उखु क्रसिङ गरेको थियो । जिल्लाको दक्षिणी क्षेत्रमा रहेका दुइवटा चिनी कारखानामध्ये एउटा सञ्चालनमा आएपछि किसानलाई उखु बिक्री गर्न केही राहत मिलेको छ । अघिल्लो वर्षबाट मात्र क्रसिङ सुरु गरेको मिलले किसानलाई समयमा नै रकम भुक्तानी गर्न नसक्दा उद्योग नै बन्द हुने अवस्थामा पुगेको थियो।
त्यसैगरी पश्चिम धनकौलमा रहेको अन्नपुर्ण सुगर मिलले किसानको तीन वर्षदेखिको ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन नसक्दा मिल सञ्चालन हुन सकेको छैन ।
अन्नपुर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले एक महिना भित्रमा उखु किसानको सबै पैसा चुक्ता गर्ने बताएको भए पनि अहिलेसम्म किसानहरुले भुक्तानी पाउन सकेका छैनन्। मिल सञ्चालक अग्रवालले पटकपटक किसानलाई झुक्याएका कारण विश्वास गर्न नसकिने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए मैनाली भन्छन ‘अन्नपुर्ण सुगर मिल र श्रीराम सुगर मिलका सञ्चालकसँग धेरै पटक छलफल भयो, उहाँहरु मिल चलाउने पक्षमा हुनुहुन्न र चलाउन सक्ने अवस्था पनि देखिएन, श्रीराम मिलका सञ्चालक दिवाकर गोल्छाले ३२ करोड र राकेश अग्रवालजीले दुईवटा मिलको गरेर किसानलाई ६० करोड रुपैयाँभन्दा बढी भुक्तानी दिनुपर्ने देखियो, अघिल्लो वर्ष सञ्चालमा रहेका १४ वटा चिनी कारखानामध्ये अहिले दसवटा कारखानाले मात्र उखु क्रसिङ गरिरहेका छन् ।
यसरी किसानलाई भुक्तानी नदिएर धमाधम उद्योग बन्द हुन थालेपछि किसानहरु ठूलो समस्यामा परेका छन । पुस ११ गतेदेखि क्रसिङ सुरू गरेको जिल्लाको उत्तरी क्षेत्रको इन्दुशंकर चिनी कारखाना हरिवनले भने ११ दिनमा तीन लाख ५५ हजार क्विन्टल उखु क्रसिङ गरेको उद्योगका सहायक उखु प्रबन्धक दिवाकर पौडेलले जानकारी दिए । कारखानाले अहिले दैनिक ४० हजार क्विन्टलको हाराहारीमा उखु क्रसिङ गरिरहेको छ ।