राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा स्थापना



मेरो प्रदेश सम्वाददाता
धनुषा


मंगलबार राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि प्रदेश नम्बर २ को जनकपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला निर्वाचन कार्यालय धनुषाको एक कार्यकक्षमा विधिवतरुपमा राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यालय स्थापना भएको हो ।

निर्वाचन आयोगले आगामी माघ ९ गते प्रदेश २ मा ४ जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।

आयोगले पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने, १८ पुसमा अन्तिम नामावली प्रकाशन गरी २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २५ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ९ गतेका दिन बिहान १०ः०० बजेदेखि अपराह्न ४स्०० बजेसम्म मतदान सञ्चालन गर्ने गरी निर्वाचनको कार्यतालिका तयार पारेको मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवडाले बताए ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ छ । जसअनुसार १ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा स्थानीय तहबाट २ सय ७२ र प्रदेश सभाबाट १ सय ७ गरी ३ सय ७९ मतदाता हुनेछन् । प्रदेश २ मा स्थानीय तहको मतभार ४ हजार ८ सय ९६ छ भने प्रदेश सभा सदस्यको मतभार ५ हजार १ सय ३६ रहेको छ । प्रदेश २ को कुल मतभार १० हजार ३२ हुनेछ । प्रदेश २ मा सबैभन्दा बढी मतभार छ । यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी देशभरिमा जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कुल २,०५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button