सरसफाइ अभियानपछि बदलिँदै बर्दिवासको मुहार



मेरो प्रदेश सम्वाददाता,बर्दिबास बजारको मुहार यतिबेला फेरिएको छ । जताततै प्लास्टिकका बोतल र खाद्यपदार्थ राखिएका भाँडाले फोहरमय बनेका बजारहरूमध्ये आफ्नो रूप फेर्न बर्दिबास यतिवेला अग्रसर छ । सरसफाइको अभियान चलाएपछि पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीकोे स्वच्छ र सफा देखीन थालेको छ । बर्दिबास नगरपालिकाले मंसिर १ गते सूचना जारी गर्दै ३५ दिनभित्र पराग, गुट्खाजन्य पदार्थ, कालो प्लास्टिकका झोला बिक्री वितरण र प्रयोगमा निषेध गरिने जनाएको छ । भित्री सडक र त्यसको किनारमा चाउचाउ र बिस्कुटका खोलहरू देखिए पनि सूचनामा यसको चर्चा गरिएको छैन । प्लास्टिकजन्य पदार्थको पुनः प्रयोग गर्न मिल्ने ‘रिसाइकल’ र ‘रिकभरी’ सेन्टर सञ्चालन गरिने लक्ष्यसमेत राखिएको छ । समग्र फोहरमैला व्यवस्थापनका लागि बनेको विस्तृत कार्ययोजना अनुरूप नै काम अगाडि बढेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले समग्र फोहरमैला व्यवस्थापनका लागि दुई करोड रुपैयाँ विनियोजन भइ काम अगाडि बढिसकेको समेत बताउनु भयो । अधिकृत उप्रेतीले दिवा तथा रात्रीकालीन सार्वजनिक यात्रुवाहक बसहरूले हाल अस्थायी बिसौनी बनाएको चोकदेखि उत्तर तथा पश्चिम क्षेत्रमा सार्वजनिक शौचालय बनाउने जग्गाको समस्या देखिएको जानकारी दिनुभयो । ‘समस्या समाधान गर्न घुम्ती शौचालयहरू सञ्चालनमा ल्याउने तयारी थालेका छौँ’, अहाँले भन्नुभयो, ‘एकीकृत बस बिसौनी नभएसम्म घुम्ती शौचालयले पनि राम्रै सेवा दिनसक्छ ।’ बर्दिबासमा दैनिक कुहिने तथा नकुहिने करिब सात हजार किलोग्राम फोहर संकलन हुने गरेको छ ।
त्यसैगरी राजमार्गको मुख्य बजारमध्येको एक लहान पनि सरसफाइ र स्वच्छतातर्फ अगाडि बढिरहेको छ। खुल्ला दिसामुक्त भइसकेका यी बजारहरूमा यात्रुहरूले प्रयोग गर्ने शौचालयको सन्दर्भ पटकपटक उठ्ने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button