नेपाली कम्युनिष्टले बिर्सिए माओलाई, जन्मदिवसमै सम्झिएनन्



आज १२६औं माओ दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहँदा नेपालमा चाहिँ सत्तारुढ कम्युनिष्ट पार्टीले नै बिर्सिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज माओको सम्झनामा कुनै कार्यक्रम राखेको छैन। केन्द्रीयस्तरमा माओ दिवस मनाउनेबारे छलफल नै नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। गत साल पनि यो दिवस मनाउन समस्या भएको उनले बताए। श्रेष्ठले भने,‘अब यस्ता दिवसहरु मनाउन महाधिवेशन नै कुनुपर्छ, त्यसपछि पार्टी एउटा संरचनामा आउँछ र यस्ता दिवस मनाउन पनि सजिलो पर्छ।’ माओवादी आन्दोलनबाटै उदाएका नेकपाका नेता राम कार्कीले पनि विधिवत रुपमा पार्टी केन्द्रले कुनै कार्यक्रम आयोजना नगरेको बताए। ‘भोलि राजविराजमा हुने कार्यक्रममा चाहिँ म जाँदैछु, त्यहाँ दुई दिने कार्यक्रम आयोजना गरिएको छ’, उनले भने, ’विभिन्नस्तरमा माओको योगदानलाई सम्झने र बुझ्ने काम त नियमित भइरहेकै छ।’ चिनियाँ क्रान्तिका नायक माओको जन्म सन् १८९३ डिसेम्बर २६ तारिखमा भएको थियो। माओकै नेतृत्वमा चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो। अहिले नेपालमा माओले विकास गरेको राजनीतिक सिद्धान्तलाई अपनाउँदै राजनीतिमा होमिएकाहरु नै सत्तासीन छन्। माओकै नाममा खोलिएको नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि जनयुद्ध शुरु गरेको थियो। सोही युद्धको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भई गणतन्त्र र नयाँ संविधान जारी भइसकेको छ। माओकै नाममा खोलिएको त्यो पार्टी र साविकको नेकपा (एमाले) बीच एकता भई अहिले नेपाल कम्युनिष्ट पार्टी बनेको छ। गत निर्वाचनमा बहुमत प्राप्त गरेको नेकपाले हाँकेको वर्तमान सरकारलाई एसियाकै तेस्रो शक्तिशाली सरकार भनिएको छ। के गरेका थिए माओले? माओले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाकाल सन् १९४९ देखि उनको मृत्युपर्यन्त अर्थात् सन् १९७६ सम्म अध्यक्षको भूमिका निर्वाह गरे। उनका राजनीतिक सिद्धान्त तथा सैन्य रणनीति र राजनीतिक नीतिहरूलाई समष्टिमा माओवाद वा मार्क्सवाद(लेनिनवाद(माओवाद भन्ने गरिन्छ। चीनको साओसान, हुनानका सम्पन्न कृषक परिवारमा जन्मिएका माओले युवा अवस्थादेखि नै चिनियाँ राष्ट्रवाद र उपनिवेशविरोधी नीति अँगाले। उनी सन् १९११ मा भएको सिन्हाई क्रान्ति र सन् १९१९ मा भएको मे ४ आन्दोलनबाट प्रभावित थिए। उनले पेकिङ विश्वविद्यालयमा कार्यरत रहँदादेखि नै मार्क्सवाद(लेनिनवाद अँगाले भने चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक पनि बने। कुओमिन्ताङ र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको चिनियाँ गृहयुद्धका समयमा उनले चिनियाँ श्रमिक तथा कृषक लाल सेना गठनका लागि महत्त्वपूर्ण भूमिका खेले र लङ मार्चको समयमै चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख बने। सन् १९४९ अक्टुबर १ मा माओ जनवादी गणतन्त्र चीनका संस्थापक घोषित भए र एक दलीय नियन्त्रणमा चीन पुग्यो। उनले यसबीचमा भूमिसुधार गरे भने कोरियाली युद्धमा मनोवैज्ञानिक जीत हासिल गर्दै तथा सामन्ती जमिन्दारविरुद्ध लाग्दै आफ्नो देशका शत्रुहरूमाथि विजय हासिल गरे। सन् १९५७ मा ‘ग्रेट लिप क्याम्पेन’ लागू गरे, जसले चिनियाँ अर्थतन्त्रलाई तीब्र रूपमा रूपान्तरण गर्न सक्थ्यो। सन् १९७२ मा माओले अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनलाई बेइजिङमा स्वागत गरे र खुला चीन नीतिको संकेत गरे। समग्रमा उनी आधुनिक विश्व इतिहासका अत्यन्तै महत्त्वपूर्ण व्यक्ति, सिद्धान्तकार, सैन्य रणनीति विज्ञ, कवि तथा दूरद्रष्टा पनि मानिन्छन्। उनका समर्थकहरू उनलाई चीनबाट उपनिवेशलाई बिदा दिने जस पनि दिन्छन्। उनको कार्यकालमा चीनलाई आधुनिकीकरण गर्ने, महिला सशक्तीकरण गर्ने, शिक्षा, स्वास्थ्य तथा मानिसको जीवनस्तरमा सुधार गर्ने काम गरेका थिए। सँगसँगै उनको तानाशाही सर्वसत्तावादी शासनका कारण धार्मिक, साँस्कृतिक संरचना ध्वस्त पार्नेलगायतका काम पनि भए। उनको शासनकालमा मानव इतिहासमै धेरै मानिसले ज्यान गुमाए। माओ धेरै पटक हृदयाघातको शिकार बने र अन्ततः सन् १९७६ सेप्टेम्बर ९ मा ८२ वर्षको उमेरमा उनको निधन भयो। साभार थहा खवर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button