पार्टी कमिटी भद्दा र नमिले जस्तो भएको नेता नेपाल

मेरो प्रदेश सम्वाददाता
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकतापछि गठन गरीएकोे नयाँ कमिटीप्रति चिन्ता व्यक्त गरेका छन्। शुक्रबार मकवानपुरको मनहरी गाउँपालिकाको रमौली–प्रतापपुरमा नेकपाले आयोजना गरेकोे पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी कमिटी भद्दा र नमिले जस्तो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । उनले पार्टीको केन्द्रीय कमिटीदेखि स्थानीय तहका कमिटीसम्म भद्दा रहेकाले अबको महाधिवेशनपछि सबै कुरा परिवर्तन गर्ने प्रस्ट पारे । नेपालले माओत्से तुङदेखि लेनिन सम्मले पनि संगठन छरितो बनाएको उदारहण दिँदै कम्युनिष्ट पार्टीको इतिहास हेर्दा पनि नेपालको नेकपाको केन्द्रीय कमिटी भन्दा थोरै र चुस्त भएको भन्दै अहिलेलाई संक्रमण कालको रूपमा लिनु पर्ने आवश्यकता औल्याए । कम्युनिष्ट पार्टीको सधैँ विरोध गर्नेहरूलाई पार्टीले ठूला पदमा र्पुयाएको भन्दै नेता नेपालले यस्तो चलन बन्द गर्नुपर्ने र नेतृत्वले नयाँ ढंगले सोच्नु पर्ने उनको भनाई छ । उनले आफू गर्न नसक्नहरुले गर्नेहरूलाई पनि बाटो छेक्ने गरि कहिले नेतृत्व गर्न नहुने प्रस्ट पारे । नेता नेपालले पार्टीमा लाग्दा देशभक्तिको भावनाले लाग्नुपर्ने बताउदै समाजको रूपान्तरण गर्ने काम कम्युनिष्टरुलेनै गर्नुपर्ने भन्दै जनताको कुरा उठाउनु पर्ने आजको आवश्यकता रहेको बताए। कार्यक्रममा संघीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित १३७ जना नेकपामा प्रबेश गरेका छन ।