स्थानीय सरकारहरूले आज बजेट सार्वजनिक गर्दै ।।



 


स्थानीय सरकारहरूले आज बजेट सार्वजनिक गर्दैछन् । नीतिगत व्यवस्था अनुसार आगामी आर्थिक वर्षका लागि ७ सय ५३ वटै स्थानीय तहले आज बजेट सार्वजनिक गर्नुपर्छ । बजेटको आय व्यय विवरण र कार्यक्रम तयार बनाइसकेका स्थानीय सरकारले यसपटक नागरिकसँग सम्वाद नै नगरि बजेट ल्याउन लागेका छन् ।

बजेट ल्याउनुअघि गर्नुपर्ने वडादेखिको तहगत छलफल यसपटक गरेका छैनन् । संघ र प्रदेश सरकारजस्तै स्थानीय सरकारले पनि रोजगारी, कृषि र स्वास्थ्यलाई प्राथिकतामा राख्दै बजेट तयारी गरेका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रदेश सरकारले बजेट ल्याएको १० दिनपछि पालिकाले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

पालिकाले पेस गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्रै खर्च गर्न सक्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै पालिकालाई पत्राचार गरी संवैधानिक व्यवस्था अनुसार नै बजेट पेस गर्न परिपत्र गरेको छ ।

पालिकालाई संघ र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा रकम उपलब्ध गराएका छन् । गतवर्ष ७२ स्थानीय तहले समयमै बजेट ल्याउन सकेका थिएनन् । यसवर्ष ति स्थानीय तहले आजै बजेट ल्याउने तयारी गरेका छैनन् ।

गतवर्ष समयमै बजेट ल्याउन नसकेको रौतहटको कटहरिया नगरपालिकाले यसवर्ष पनि समयमा बजेट ल्याउन सक्ने अवस्थामा नरहेको बताएको छ । नगरपालिका प्रमुख सियाराम प्रसाद कुशवाह कोरोना नियन्त्रणको तयारीमा लागेकाले बजेटको तयारी गर्न नपाएको बताउनुहुन्छ । पोहोर समयै बजेट नल्याउनेमा सबैभन्दा धेरै प्रदेश २ का मात्रै ३१ वटा स्थानीय तह थिए ।

साभार सिआइएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button