क्वारेन्टाइनमै किरिया शुरु



बैतडी,
दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन ।


भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका छन । उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टाइनमै किरिया शुरु गरेका हुँन । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनी दोगडाकेदार पुगेका थिए ।
क्वारेन्टाइनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरेका छन । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा बसेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button