प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय ८५ जना कोरोना संक्रमित थपिए

प्रदेश नं २ मा झण्डै २५ सय जनामा काेराेना संक्रमण फैलिएकाे छ ।
पछिल्लाे २४ घण्टामा थप १ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सँगै प्रदेश नं २ मा कूल संक्रमितको संख्या २ हजार ३ सय ७० पुगेको छ ।
मंगलबार ७ जना महिला र १ सय ७८ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश २ मा सामाजिक विकास मन्त्रालयले नियमित रुपमा गर्दै आएको मिडिया ब्रिफींग मा सबैभन्दा बढी महोत्तरीमा ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
त्यस्तै सप्तरीमा ३ जना, सिरहामा २ जना, पर्सामा २ जना, धनुषामा २१ जना, सर्लाहीमा १६ जना, रौतहटमा ५२ जनामा कोराना संक्रमित थपिएका छन् । यस प्रदेश २ मा हालसम्म ५ सय ६ जना कोरोना संक्रमित स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।