रोग भन्दा भोकको पीडा सहन सकिएन



सप्तरी । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहेका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरि रु सय बटुलेर घरबाट निस्किए । २५ वर्षीया सुत्केरी श्रीमति मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा चाहियो भनेर पटक पटक ताकेदा गरेर धम्क्याए , अर्कोपटक उधारो नदेला भन्ने भयले रु सय भए पनि बुझाउन निस्केए ।” उनले भने ।


काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमा चुलो अगाडि टोलाएकी छन् । उनीले भनिन्, “कसैले असहायका लागि चामल बाँडेको छ कि खाना खुवाउँदैछ भनेर भौतारिरहेका होलान् । गएको चार घण्टा भयो , अहिलेसम्म फर्किएका छैनन् । ”

घरका सबैजना राधेश्यामको पर्खाइमा छन् । सुत्केरीलाई औषधि र पौष्टिक आहारा चाहिएको छ, काखे छोरीभन्दा माथिका चार र पाँच वर्षका दुई छोरी सहित सबैलाई खाना चाहिएको छ । चुलोमा दाउरा नपरेको तीन दिन भइसक्यो । “एकछिन् भोक सह, खाना आइहाल्छ”, मनोरमाले छोरीहरूलाई आश्वासन दिइन् । यो सुनेर माइली छोरी घर अगाडि बुवा आउने बाटोमै गएर पर्खिन थालिन् ।

सुख त यिनलाई पहिले पनि थिएन । विषहरिया गाउँबाट उठिवास भएपछि राजविराज आएका उनीहरूले बजारकै साहुजीसँग रु दुई÷तीन सयको तरकारी किनेर बेच्न थाले, कहिले केरा बेच्थे । तर लकडाउन सुरु भएपछि राम्ररी बेच्न पाएका छैनन् । लुकीछिपी बेचेको थाहा पाएर आउने प्रहरीको सङ्केत पाएपछि भागाभाग गर्नु पर्थ्यो । भाग्न नसके लाठीको कुटाइ खानुपर्थ्यो । मनोरमा भन्छिन्, “बिहान, दिउँसो पोशाकमा आएर लघार्थ्यो, साँझ सादा पोशाकमा तरकारी किन्न आउँथ्यो ।”

लकडाउन नहुँदा हातगोडा चलाएर जसोतसो दिन बितिरहेकै थिए । यसोउसो गरेर छोरीहरूको मुखमा माड लागेको थियो । ठ्याक्कै देशमा लगडाउन सुरुभएसँगसँगै उनको पेटमा पनि लकडाउन भइदियो । घरभाडा तिर्न नसकेर राजविराज–७ थानगाछीबाट निकालिएपछि मनोरमा सपरिवारका साथ सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित माइत आएर बसेकी छन् । माइतमा एक्ली वृद्ध आमामात्र छिन् । अप्ठ्यारो परेका बेला आमाले छोरी र छोरीले आमाको साथ त पाएका छन् तर ‘जोगीका घरमा सन्यासी पाहुना’ जस्तो ।

देव दम्पतीले हातमुख जोड्नका लागि सङ्घर्ष गर्न राजविराजबाहेक अर्को ठाउँ देखेका छैनन् । राधेश्यामले बल्ल मुख खोले, “हाम्रो त जाने ठाउँ पनि छैन, अर्को सीप पनि छैन, भोकले मरे पनि रोगले मरे पनि अब यहीँ मर्ने हो ।”

मनोरमा यसैबेला सुत्केरी भएकी छन् । वर्षेनी दुई छोरी भएको चार वर्षपछि फेरि छोरी भएको छ । सुत्केरी भएको एक सातामै निकै बिरामी परेर अस्पताल भर्ना भइन् । अस्पतालको १० दिनको बसाइपछि झोलाभरि चिकित्सकले लेखिदिएको पुर्जा लिएर फर्केकी छिन् । भोको पेटसँग अब धेरै जुध्न सकिन्न भन्ने लागेको उनले हरेश खाएकी छिन् । मनोरमाको नागरिकता, विवाह दर्ता छैन, छोरीहरूको जन्मदर्ता पनि छैन । यसको जरुरी नै परेको छैन उनीहरूलाई । एकमुठी स्वास र सँगै हुर्किरहेका छोरीको जीवन बचाउने अभिभारा नै पूरा गर्न नसक्ने अवस्थामा छन् देव दम्पती । मनोरमाको तरकारी बेच्ने काम रोकियो तर रोग र भोक रोकिएन ।

“सुरु सुरुमा त सँगै फोटो खिचिदिएवापत राहत दिनेहरू पाइएको थियो”, एकपटक आफूले पनि राहत थापेको स्मरण गर्दै राधेश्याम भन्छन्, “‘खाली हात घर जान मन नलागेर त्यस्ता मानिस भेटिन्छन् कि भनेर बजारमा भौँतारिएको थिएँ, पाइएन ।”

गाउँमै सरकार र सिंहदरबारको कुरा उनले पनि सुनेका छन् । स्थानीय सरकारले वडामा रहेका गरिब मजदुरको लगत सङ्कलन ग¥यो । सरकारले बाँडेको राहत सबैलाई दिनुपर्छ भनेर धनीले पनि मागेपछि वडाका एक हजार १ सय ९१ परिवारलाई १५ किलो चामल, दुई किलो दाल, एकरएक किलो नुन र खानेतेल वितरण हुने भयो । वडाका १५ परिवारबाहेक धनी–गरिब सबैले राहत लिँदा वास्तविक गरिबको भागमा थोरै राहत पर्न गएको राहत वितरण सर्वदलीय समितिका सदस्य अशोककुमार यादवले बताए । लकडाउनको ७६ दिनको अवधिमा एकपटक राहत वितरण भएपछि दोस्रोपटक राहत वितरण भएको छैन ।

बाँसको टाँट र माटोले बनेको सानो झुपडीको एउटा कोठामाथिको छानो छैन । बर्खाको झरी र हिउँदको घामले चुहिने अर्को एउटा कोठामा रहेको खाटमा सपरिवार सुत्छन् । सुत्केरी मनोरमालाई पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । गरिबी, बेरोजगारी त्यसमाथि सुत्केरी र बिरामीले खुबै सताएको छ । काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमाले आँखाभरि आँसु लिँदै भनिन्, “भोकको पीडा त खप्नै पो नसकिने हुन्छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button