यसरी ६ चरणमा खुकुलो पारिंदै लकडाउन



सरकारले ७५ दिनदेखि जारी बन्दाबन्दी (लकडाउन) ले सर्वसाधरण नागरिको जनजीवन कष्टप्रद बन्दै गएको र मुलुकको आर्थिक गतिविधि नै ठप्प भएपछि  लकडाउन खुकुलो बनाउँदै लैजाने भएको छ ।


सरकारले एक सय भन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने रणनीति अघि सारेको छ ।

जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिएकाे छ ।  सरकारले जेठ ३२ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेकाे थियाे ।

यसरी ६ चरणमा खुकुलो पारिंदै लकडाउन

लकडाउनलाई असार १ पछि ६ चरणमा खुकुलो बनाउने तयारी सरकारको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले असार १ देखि भदौ अन्तिम सातासम्म लकडाउन पूरै खुलाउने कार्ययोजनामा छलफल भएकाे छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त समितिलाई दुई दिनभित्र लकडाउन खुकुलो पार्ने कार्ययोजना पेस गर्न निर्देशन दिएको थियो । निर्देशन अनुसार शुक्रबार बसेको समितिको बैठकमा असार १ देखि भदौ अन्तिमसम्म सावधानीपूर्वक सबै क्षेत्र खुला गर्ने कार्ययोजनामा छलफल भयो ।

कार्ययोजनामा पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामग्री वितरण केन्द्रहरू, दूध, अन्नबाली, तरकारी, फलफूल, सम्पूर्ण कृषिजन्य उत्पादन कार्य आशिंक खोल्ने प्रस्ताव गरिएको छ । यस्तै, दैनिक उपभोग्य सामग्री बिक्रीवितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै जिल्लाभित्रका छोटो दूरीका सवारीसाधनमा ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्न पाइनेछ ।

दोस्रो चरणमा पहिलो चरणको अनुभवका आधारमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्ने, जिमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय आंशिक रूपमा खोल्न दिने प्रस्ताव गरिएको छ ।

तेस्रो चरणमा दोस्रो चरणमा खुलेकासहित सबै निजी सवारीसाधन सञ्चालन गर्न दिइनेछ । सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र बिजोर नम्बर प्रणालीका आधारमा निजी सवारीसाधन सञ्चालन गर्न दिइने छ । यो चरणमा लामो दूरीका सार्वजनिक यातायातलाई पनि ५० प्रतिशत यात्रु राखेर चलाउन दिने प्रस्ताव गरिएको छ ।

चौथो चरणमा कोरोना संक्रमण भएका र नभएका जिल्ला छुट्याई संक्रमणरहितमा शिक्षा क्षेत्रबाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी लकडाउन हटाउने उल्लेख छ । यो चरणमा धार्मिक स्थल, जमघटस्थलबाहेक सबै खुला गर्ने प्रस्ताव छ ।

पाँचौ चरणमा भदौ पहिलो साताभित्र विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवा, सूचना तथा सञ्चार, बैंकिङ तथा वित्तीय संस्था, खेलकुद, धार्मिकस्थल, सरकारी तथा निजी कार्यालय खुलाउने प्रस्ताव कार्ययोजनमा छ । घरेलु तथा साना उद्योग, ठूला उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनालगायत खुला गर्ने प्रस्ताव छ ।

छैटौं चरण भदौ ८ देखि २१ सम्मलाई मानिएको छ । त्यस अवधिमा सावधानीपूर्वक लकडाउन पूर्ण र व्यपस्थित रुपले खुला गर्ने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button