क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढेपछि जथाभावी खर्च ,, दुरुपयोग

महोत्तरी
क्वारेन्टिनमा बस्नेको सङ्ख्या बढेपछि महोत्तरीका स्थानीय तहहरुले क्वारेन्टिनका नाममा मापदण्ड बिना नै जथाभावी खर्च गरिरहेका छन् ।
पछि बिलभर्पाइ अनुसार भुक्तानी गर्ने गरी खर्च भएकाले दुरुपयोगको सम्भावना बढेको हो । क्वारेन्टिनमा मानिसको सङ्ख्या बढेकाले नगरप्रमुख तथा वडाध्यक्षले पछि बिलभर्पाइ पेश गर्ने नाममा अहिले जथाभावी खर्च गरिरहेका छन् ।
स्थानीय तहले जथाभावी खर्च देखाए पनि बजेट सक्न आधारभूत पूर्वाधारबिनै क्वारेन्टिन निर्माण गरेको, क्वारेन्टिनमा चिसो भुइँमा त्रिपालमाथि फम र तन्ना ओच्छ्याएर सुताउने गरिएको, खानाको प्रबन्ध राम्रोसँग नगरिएको पाइएको छ ।
पङ्खा, झुल, शौचालय र बिजुलीको अभावले समेत व्यवस्थापन भद्रगोल छ । क्वारेन्टिनको खाना गुणस्तरहीन भएको गुनासो धेरै आएपछि क्वारेन्टिनमा बसेकाले घरका परिवारले ल्याइदिएको खाना खाने गरेका छन् । महामारीका बेला भैपरी आउने कामका लागि खर्च गरिनु स्वाभाविक भए पनि त्यही नाममा रकम दुरुपयोग हुने सम्भावना पनि बढेको छ । रासस