१ सय ७२ जना प्रदेश २ मा कोरोना संक्रमित

मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नं २ मा कारोना सङ्क्रमितको सङ्ख्या १ सय ७२ पुगेको छ। पछिल्लो समयमा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ सङ्क्रमित थपिएपछि सङ्क्रमितको संख्या १ सय ७२ पुगेको हो । सप्तरीका २१ सङ्क्रमित मध्ये भारतबाट आएका २० व्यक्तिमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।
सर्लाहीका १३ मध्ये १२ जना सङ्क्रमित भारतको गुजरात, महाराष्ट्र र दिल्लीबाट आएको बताइएको छ। सर्लाहीको कविलासी नगरपालिका–१ की ३७ वर्षीया कोरोना सङ्क्रमित महिलाको काठमाडौँमा उपचार भइरहेको छ।
यस्तै सर्लाहीको गोडैता नगरपालिकामा विभिन्न मितिमा भारतबाट फर्केका १२ सङ्क्रमितलाई मलङ्गवा–२ स्थित अल्पमाई अस्पतालको आइसोलेशनमा राख्ने तयारी भइरहेको छ ।त्यसैगरी बाराको सिमरौनगढ नगरपालिकाका कोरोनाबाट सङ्क्रमित सातजना केही दिनअघि भारतबाट फर्केका थिए। उनीहरुलाई स्थानीय कङ्कालिनीमाई माविस्थित क्वारेन्टाइनमा राखिएको थियो। करैयामाई गाउँपालिका–५की एक ३७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ।
केहीदिन अघि भारतबाट फर्किएका उनका ३८ वर्षीय श्रीमान्मा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आफन्त, सम्पर्कमा आएका व्यक्तिका साथै श्रीमतीको पनि स्वाब सङ्कलन गरिएको थियो। परीक्षणबाट ती व्यक्तिकी श्रीमतीमा कोरोना सङ्क्रमण देखिएको हो। सप्तरीको बलानविहुल गाउपालिकाका ३५ वर्षीय पुरुष वैशाख २९ गते भारतको हरियाणाबाट फर्केका थिए ।
उनको गजेन्द्रनारायणसिँह अस्पताल राजविराजमा उपचार भइरहेको छ। सप्तरीमा दुई, सिरहामा एक, धनुषामा आठ, महोत्तरीमा चार, सर्लाहीमा ३३, रौतहटमा २२, बारामा १२, तीन भारतीयसहित पर्सामा ९० गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १७२ पुगेको छ। यसैबीच प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ।
शनिबार ४०९ जनाको समेत गरी अहिलेसम्म यस प्रदेशमा सात हजार ९४५ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पाँच हजार ५४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार २३४ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रदेशको २४८ वटा क्वारेन्टाइनमा आठ हजार ११९, होम क्वारेन्टाइनमा पाँच हजार २२० र आइसोलेशनमा १ सय७० जना रहेका छन्।