सिरहामा राहतको विषयलाई लिएर दुई पक्ष बिच झडप

मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा राहतको विषयलाई लिएर सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच कुटाकुट भएको छ । कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा सिरहाको नरहा गाउँपालिका १ देवीपुरमा विवाद हुँदा वडा कार्यालयमै शुक्रबार कुटाकुट भएको हो । कुटाकुटमा दुबै पार्टीका डेढ दर्जन बढी कार्यकर्ता घाइते भएका छन्।
घाईते हुँने नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी लगायत कांग्रेसका रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतार मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डल लगायत रहेकाका छन् । उनीहरुलाई ढुंगा र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक र टाउको फुटेको छ।
घाईते उनीहरुको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ ।
घाइतेमध्ये उर्मिला कामति, रामचन्द्र र रामजीवन रायलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला अस्पतालले जनाएको छ। दुई हप्ताअगाडी वडा कार्यलयबाट कोरोना प्रभावितहरुलाई राहत वितरण गरिएपनी त्यसमा केही व्यक्ति छुटेको भन्दै कांग्रेस र जनता समाजवादी पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले वडाअध्यक्ष अशोक साहसँग उनको घरमै पुगेर गुनासो गरेका थिए ।
त्यसपछि वडाअध्यक्ष साहले आफुलाई गाली बेइज्जत गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । साह नेकपाबाट निर्वा्चित वडाअध्यक्ष हुन् । वडाअध्यक्ष साहले ५१७ घर परिवार दलित, गरिबलाई राहत वितरण गरेको दाबी गरेका छन् । त्यसबाहेक २ सय भन्दा बढी घरपरिवारलाई राजनीतिक पूर्वाग्रह राखी राहत नदिएको कांग्रेस पक्षको आरोप थियो ।
छुटेकाहरुलाई पनि राहत वितरण गर्नुपर्ने माग राख्दा साहले छलफलका लागि वडा कार्यालयमा बोलाएर कुटपिट गराएको स्थानीय कांग्रेस नेता कौशल मण्डलको आरोप छ । आफुले सबैलाई मिलाएर राहत वितरण गरेको वडाअध्यक्ष साहले बताए । छुटेकालाई राहत वितरण गर्ने विषयमा छलफल भइरहँदा कांग्रेस र समाजवादी पार्टीका नेताहरुले विवाद खडा गरेको उनको आरोप छ ।
नागरिकता नभएका केही व्यक्तिहरु छुटेको उनले सुनाए । वडा कार्यालयमा आएर जर्वजस्ती गर्न थालेपछि झडप भएको उनले बताए । कुटाकुट विषयको घटनाबारे अनुसन्धान भइरहेको सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । (