कोरोना संक्रमित पत्रकार बिडारी भन्छन्- ‘सतर्कता अपनाएकै थियौं, कामकै सिलसिलमा कोरोनाले भेट्यो’



सुरेश बिडारी मध्य तराईको शहर वीरगञ्‍जमा रहेर निरन्तर पत्रकारिता गर्दै आएका, धेरैले चिनेका पत्रकार हुन्। हिमाल खबरपत्रिका साप्ताहिक हुँदै हाल अनलाइनखबरको वीरगञ्‍ज संवाददाता रहेका बिडारी रिपोर्टिङका क्रममा गाउँ, बस्ती, भीडभाड सबैतिर पुगिरहन्छन्। यो पछिल्लो समय पर्सा जिल्ला र त्यसमा पनि वीरगञ्ज महानगर क्षेत्र कोरोना संक्रमणको हटस्पट बनेको छ। सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामै भेटिएका छन्। यो अवस्थामा रिपोर्टिङमा कुदिरहने भएकाले आफूलाई पनि कतै कोरोना संक्रमण भयो कि भन्ने आशंकाले २७ वैशाखमा परीक्षण गराएका उनमा नभन्दै ३१ वैशाखमा कोभिड(१९ पोजिटिभ देखियो। बिडारी र उनीसँगै पोजिटिभ नतिजा आएका वीरगञ्जकै अर्का एक पत्रकार नेपालमा कोरोना संक्रमित हुने पत्रकारमा शुरुआती नाम हुन्।  त्यसपछि नारायणी उपक्षेत्रीय अस्पतालको आईसोलेसन वार्डमा छन्, बिडारी। आइसोलेसन वार्डबाटै बिडारीसँग देखापढीका लागि तुफान न्यौपानेले गरेको कुराकानीको सारसंक्षेपःतपाईंलाई कस्तो छ अहिले ?


परीक्षण गर्न जानुअघि र अहिले संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्दासमेत कुनै लक्षण देखिएको छैन। म आफूलाई स्वस्थ महशुस गरिरहेको छु। म ठिक छु। धेरैले चिन्ता लिएर चासो देखाँउदै कल गर्नु भएको छ। म बिलकूल ठिक छु।

कसरी संक्रमित हुनु भएछ ?

मलाई वैशाखको शुरूमा एक दिन ज्वरो आएको थियो। ती दिन कामको अलि बढी नै चाप थियो। धपेडीले होला भन्ठानें। भोलिपल्टबाट केही पनि भएन। धपेडी नै भएको हुनुपर्छ। त्यसपछि पहिलेजस्तै नियमित काममै व्यस्त थिएँ। रिपोर्टिङम जाँदा पनि सतर्क भएकै थियौं। अस्पतालबाट डिस्चार्ज भएर संक्रमित छुटेको दिन र एकै परिवारका धेरै जनालाई संक्रमण देखिएको दिन अस्पताल पुगेका थियौं। अलि बढी नै भीडभाड थियो। अरू बेला खासै धेरै फिल्डमा पनि गएका थिएनौं।

पत्रकारका नेता हौं भन्नेहरूले नै आफ्नै लापरवाहीले संक्रमित भएका हुन् भन्ने भाषण गर्नुभएछ। हामी रिपोर्टिङमा जाँदा र फर्कँदा पनि सकेर जानेसम्मको सतर्कता अपनाएकै थियौं। जानीजानी संक्रमण फैलाउन लापरवाही पनि गरेका छैनौं। कामकै सिलसिलामा संक्रमित भयौं।

विरगञ्जमा दिन-प्रतिदिन संक्रमित बढिरहेका थिए। यत्तिकैमा अर्का एक जना पत्रकार दाई (उहाँ पनि संक्रमित भएर मसँगै उपचाररत हुनुहुन्छ। तर, परिचय खुलाउन चाहनुभएको छैन) ले हामी पनि बाहिर गइरहन्छौं, एकपटक परीक्षण पो गराउने हो कि भन्नुभयो। त्यसपछि गएको शनिवार (२७ वैशाखमा) हामीले स्वाब दियौं। मंगलबार परीक्षणको रिपोर्ट आउँदा संक्रमण भएको देखियो। कहाँबाट कसरी सर्‍यो भन्ने अलि बुझ्न सकिएको छैन।

कुनै लक्षण देखिएको थिएन ?

परीक्षण गराउनु अघि पनि थिएन। अहिले पनि छैन।

कुनै लक्षण नदेखिँदै किन परिक्षण गर्नुपर्छ भन्ने लाग्यो ?

हामीहरू रिपोर्टिङमा हिँडिरहन्थ्यौं। जानेसम्मका सतर्कता त अपनाएकै थियौं। कोरोनाको संक्रमण पुष्टि भएर अस्पताल बसेका व्यक्तिहरूसँग कुराकानी गर्दा पनि उहाँहरूले आफूहरूलाई कुनै लक्षण नदेखिएको बताउनुहुन्थ्यो। त्यसैले लक्षणबिना नै पनि संक्रमण भएको हुनसक्छ भन्ने लाग्यो। यहीबिचमै विरगञ्जमा समुदायस्तरमा कोरोना फैलियो भन्ने कुरा आएपछि अर्को दाईले परीक्षण गरी हेरौं न त भन्नुभएपछि परीक्षण गराएका थियौं। हामीहरू दुवै जना संक्रमित भएको पुष्टि भयो।

 

तपाईं घरमा को को सँग बस्नुहुन्छ ? तपाईंको परीवारका सदस्यको पनि परीक्षण भयो कि भएन ?

मेरो घर मकवानपुरको चित्लाङमा पर्छ। घर बुवा आमा हुनुहुन्छ। म, श्रीमती र ७ वर्षको छोरोसहित वीरगञ्जमा डेरामा बस्छु। अहिले श्रीमती र छोराको पनि स्वाबको नमूना लिएको छ। उनीहरूको रिपोर्ट आउन बाँकी नै छ।

यसैसाता वीरगञ्जमा पत्रकारहरूको आन्दोलन पनि भएको थियो। त्यहाँ भीडभाड भएका थुप्रै तस्वीरहरू हामीले देखेका थियौं। के उनीहरू पनि जोखिममा होलान् ?

वीरगञ्जकै एक जना पत्रकार साथीलाई प्रहरीले पक्राउ गरेछ। त्यसबारे बुझ्न र उहाँलाई छाड्न माग गर्दै हामी आइतबार (परीक्षणका लागि स्वाबको नमूना दिएको अर्को दिन) प्रहरी कार्यालय गएका थियौं। त्यहाँ सुनुवाई नभएपछि साथीहरूले सोमबार आन्दोलन गर्ने निर्णय गरे। हामीहरू पनि त्यसमा सहभागी भयौं। अरूबेला चैं जोखिमको सम्भावनालाई विचार गरेर टाढै बस्ने, हात नमिलाएर नै हाय, हेलो गर्ने गर्थ्यौं। तर, आन्दोलनमा भने धेरै नै भीडभाड भयो। त्यसपछि त्यहाँ सहभागी अन्य पनि संक्रमित भएको हुनसक्छन् भनेर सबै पत्रकारको पीसीआर गर्ने कुरा भयो। हिजोसम्म १०४ जनाले स्वाब दिएका थिए। आज बुझ्न पाएको छैन।

शुरूमा अन्तर्राष्ट्रिय उडान बन्द गरिहालियो। निर्णय गर्नेबित्तिकै त्यो कार्यान्वयन गर्न पनि सजिलो भयो तर भारतसँगको सीमा बन्द गर्न गाह्रो भयो। निर्णय गरेपछि पनि त्यसलाई तुरून्तै लागू गर्न सकिएन। भारतबाट धेरै व्यक्ति भित्र्यायौं। अहिले यहाँ फैलिनुको कारण त्यही नै हो।

अस्पतालको बसाईं कस्तो हुँदैछ ?

सरकारी अस्पताल हो। नेपालमा सरकारी अस्पताल भन्नेबित्तिकै धेरै कुरा आफैं बुझिन्छ,आफैं अनुमान गर्न सकिन्छ के कस्तो होला भन्नेबारे। प्रसुति गृहको वार्डमा छौं। नारायणी उप-क्षेत्रीय अस्पतालको तीन वटा कोठामा २३ जना संक्रमित छौं।

दूरी कायम गरेर बेडहरू राखिएको छ। तातो पानीको व्यवस्था छ। ढोकामा खाना र खाज आउँछ। पालैपालो लिन जान्छौं। यसरी नै बसेका छौं।

एउटा कुरामा अलि चित्त दुखेको छ। पत्रकारका नेता हौं भन्नेहरूले नै आफ्नै लापरवाहीले संक्रमित भएका हुन् भन्ने भाषण गर्नुभएछ। हामी रिपोर्टिङमा जाँदा र फर्कँदा पनि सकेर जानेसम्मको सतर्कता अपनाएकै थियौं। जानीजानी संक्रमण फैलाउन लापरवाही पनि गरेका छैनौं। कामकै सिलसिलामा संक्रमित भयौं। अब उपचारपछि निको भएर फर्केर कामलाई निरन्तरता दिने आत्मविश्वास पनि छ। यस्तो अवस्थामा उहाँहरूबाटै लान्छना सुन्दा अलि चित्त दुख्दो रहेछ।

तपाईंले गरेका रिपोर्टिङ पढेका छौं। अस्पतालबाट समेत कामलाई कसरी निरन्तरता दिनुभएको छ ?

खासै धेरै रिपोर्टिङ त केही गर्न पाइएको र सकिएको छैन। शुभचिन्तकहरूको फोनले नै समाचार लेख्ने समय पाइएको छैन। सबैले चिन्ता र चासो लिइरहनुभएको छ। तर, पनि मेरा स्रोतहरूले पहिलेजस्तै सूचना दिइरहनुभएको छ। मैले फोनबाट ती सूचना संकलन गर्ने र कार्यालयका साथीहरूलाई फोनमै समाचार टिपाउने गरेको छु।

पर्सा नेपालमै सबैभन्दा बढी संक्रमित भएको जिल्ला बन्न पुगेको छ। एउटा पत्रकारको रूपमा तपाईंले गरेको अवलोकनमा समस्या कहाँनेर देख्नुहुन्छ ? के कारणले पर्सामा संक्रमण यसरी फैलियो होला ?

यसको स्वास्थ्यसम्बन्धी कारणहरू त चिकित्सक र त्यस क्षेत्रका विज्ञले भन्लान्। हामीलाई थाहा हुने कुरा भएन त्यो। तर, मैले देखेको दुईवटा कुरा छ। एउटा सरकारी पहलको अर्को नागरिकको कर्तव्यको। यो दुईटैमा चुक भयो।

शुरूमा अन्तर्राष्ट्रिय उडान बन्द गरिहालियो। निर्णय गर्नेबित्तिकै त्यो कार्यान्वयन गर्न पनि सजिलो भयो तर भारतसँगको सीमा बन्द गर्न गाह्रो भयो। निर्णय गरेपछि पनि त्यसलाई तुरून्तै लागू गर्न सकिएन। भारतबाट धेरै व्यक्ति भित्र्यायौं। अहिले यहाँ फैलिनुको कारण त्यही नै हो।

सबै व्यक्ति आए। ज्वरोसमेत ननापिकनै मानिसहरू आए। को नेपाली, को भारतीय ? कहाँबाट आएर कहाँ जाने हो ? त्यहाँ के कसरी बस्ने हो आदी केही टुङ्गो नलगाई भटाभट मान्छे आए। कसैले व्यवस्थित गर्नै सकेन। त्यसको कुनै पनि रेकर्ड भएन।

वीरगञ्ज महानगरपालिकाले सञ्चालन गर्ने भनेको कोरोना विशेष अस्पताल पनि प्रयोगमा ल्याउन सकिएको छैन। संक्रमितलाई स्कूलमा राख्नु भन्दा यहाँका निजी अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्ने गरी प्रयोगमा ल्याउन सकिन्थ्यो त्यता किन ध्यान नदिइएको होला ?

संघीय, प्रादेशिक र स्थानीय सरकारका बीचमा कुनै पनि समन्वय हुन सकेन। स्थानीय प्रहरी प्रशासन र स्थानीय तहबीच पनि समन्वय भएन।

अर्को, देशभित्रै पनि पहुँचका आधारमा पास दुरूपयोग गरेर आवतजावतलाई निरन्तरता नै दिइयो। लकडाउन शुरू भए पछि पनि पहुँच हुने मान्छेका लागि विरगञ्ज-काठमाडौं आउजाउ कुनै कठिनाई भएन।

नागरिकले आफ्ना कर्तव्य पालना गर्ने कुरामा पनि प्रश्न उठाउन सकिने ठाउँ छ। नागरिक सचेतना पनि कम भो। तरकारी पसलदेखि किराना पसलसम्म भीड देख्न सकिन्थ्यो।

अहिले पर्सा सबैभन्दा बढी संक्रमितको जिल्ला बनेपछि पनि यस्तो अवस्था जारी छ कि अहिले अलि सुधार भएको छ ?

अहिले आवातजावत चैं पहिले भन्दा अलि कडा गरिएको छ। निषेधाज्ञा नै जारी गरिएको छ भनेपछि अलि कडा गरेको छ। तर,  अवस्था धेरै नै बिग्रिसकेको छ। अस्पतालमा संक्रमित राख्ने ठाउँ अपुग भइसकेको छ। स्थानीय सिद्धार्थ स्कुल पहिले क्वारेन्टिनको रूपमा प्रयोग गरिएको थियो, अहिले त्यहाँ नै आइसोलेसन वार्ड बनाएर संक्रमितलाई राखिएको छ।

वीरगञ्ज महानगरपालिकाले सञ्चालन गर्ने भनेको कोरोना विशेष अस्पताल पनि प्रयोगमा ल्याउन सकिएको छैन। संक्रमितलाई स्कूलमा राख्नु भन्दा यहाँका निजी अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्ने गरी प्रयोगमा ल्याउन सकिन्थ्यो त्यता किन ध्यान नदिइएको होला ? अनि यहाँ स्वास्थ्यकर्मीको पनि अभाव भएको सुनिन्छ। अन्यत्रबाट चिकित्सकहरूलाई यता खटाउन सकिन्थ्यो होला। त्यसतर्फ पनि संघीय सरकारले सोच्ने हो कि ?

तपाईंहरूको परीक्षण अब कहिले हुन्छ ?

डब्लुएचओले अस्पताल लगेको ४८ घण्टामा फेरी परीक्षण गर्नू भनेको छ भन्ने सुनेको छु। मलाई एकिन थाहा छैन।

यस क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको अभावको पनि कुरा आइरहेको छ। त्यसैले पनि हाम्रो ढिलो भएको होला वा अस्पतालले केही तयारी गरेको पनि हुनसक्छ। अब कहिले परीक्षण हुन्छ भन्नेबारे त हामीलाई केही भनिएको छैन।

साभार  देखापढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button