दुई दिनभित्र अन्नपूर्ण चिनी उद्योगले किसानको २५ लाख दिने



मेरो प्रदेश सम्वाददाता
सर्लाही
आन्दोलनमा उत्रिएका सर्लाहीका किसान र उद्योगीबीच मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा भएको सहमति अनुसार जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले दुई दिनभित्र किसानलाई २५ लाख रुपैयाँ भुक्तानी दिने भएको छ।
किसानको भुक्तानी रोकेको उद्योगले केही दिनअघि लकडाउनको मौका छोपी चिनी बिक्री गर्न खोजेपछि किसानले अवरोध गरेका थिए। त्यसै क्रममा किसानले चिनी लिन आएका ६ वटा ट्रक नियन्त्रणमा लिएपछि उद्योगी र किसानबीच विवाद बढेको थियो।


विवाद मिलाउन सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीको पहलमा सोमबार दुई पक्षबीच छलफल भएको थियो। छलफलकै क्रममा उद्योगी र किसानबीच झडप हुँदा ११ जना घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा किसान र उद्योगीबीच सातबुँदे सहमति भएको प्रजिअ जिसीले जानकारी दिए। किसानले नियन्त्रणमा लिएका ट्रक छाड्ने, किसानको २५ लाख भुक्तानी उद्योगीले दुई दिनभित्र दिने, ट्रकमा रहेको चिनी बिक्रीबाट प्राप्त रकम पनि १० दिनभित्र पुनः किसानको खातामा जम्मा गर्नेलगायतका सहमति भएको छ।

अन्नपूर्ण चिनी उद्योगले किसानको करिब २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। किसानको भुक्तानी दिन बाँकी राखेको अन्नपूर्ण चिनी उद्योग यो वर्ष सञ्चालनमा आउन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button