पत्रकार यादवलाई कुटपिट गर्ने एक जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
बारा


पत्रिकाको कार्यालयबाट काम सकेर घर जाने क्रममा तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक पवन यादवलाई आइतबार कुटपिट गर्ने समूहका एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–३ भवानीपुरका छोटे मन्सुर रहेका छन । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए । कुटपिटमा संलग्न बाँकी तीनजनाको खोजी भइरहेको उनले बताए ।

पक्राउ परेका मन्सुरमाथि कुटपिट मुद्दा दर्ता गरी कारवाही अगाडि बढाईएको छ । पत्रकार यादवलाई कलैयाको भरतचोकस्थित आइतबार बेलुका कलैया पिलुवा सडकखण्डअन्तर्गत अवधापुरमा चार जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेका थिए । यादवका अनुसार कलैया उपमहानगरपालिका–२ अवधापुरस्थित हनुमान मन्दिरका पुजारी किशोरी दासलाई राति ८ः३० बजे चारजनाको समूहमा रहेका व्यक्तिले फोहर फोहर गाली गरिरहेको अवस्थामा सम्झाउन जाँदा उनीहरुले आफूलाई कुटपिट गरेका हुँन ।

शरीरको विभिन्न भागमा चोट लागेका पत्रकार यादवको राति नै कलैया अस्पतालमा उपचार गरिएको थियो । उनको अवस्था समान्य रहेको छ । ती अपरिचित व्यक्तिले कुटपिट गर्नाका साथै क्यामरा, ल्यापटप र मोबाइल समेत फुटाइ क्षति र्पुयाएका छन् ।

पत्रकार यादवले भने, “गाँजा पक्रन लगाउने यिनै पत्रकार रहेको भन्दै पिट्न थालेको र नजिकै रहेका घरका महिलाले आफूलाई उद्धार गरी ज्यान बचाएको थियो ।” हेलमेट टाउकोमा लगाएका कारण आफू ठूलो क्षति हुनबाट जोगिएको उनको भनाइ छ ।

यसैबीच पत्रकार यादवमाथि भएको सङ्घातिक घटनाको नेपाल पत्रकार महासंघ बारा, नेपाल प्रेस सङ्गठन र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही, उपचार र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि घटनाप्रति दुःख व्यक्त गर्दै पत्रकार यादवमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button