प्रहरीकै संरक्षणमा मदिरा तस्करी



मेरो प्रदेश सम्वाददाता
सप्तरी
लकडाउनको मौका छोपी प्रहरीकै संरक्षणमा सप्तरी जिल्लाबाट भारततर्फ मदिरा तस्करी हुने गरेको खुलेको छ ।


भारतसँग सीमा जोडिएको सप्तरीको ७८ किलोमिटर क्षेत्रमध्ये जिल्लाको विभिन्न नाकाहुँदै तस्करी हुने गरेको छ । पछिल्लो समय छिन्नमस्ता गाउँपालिकाको महुवा क्षेत्रबाट लाखौं रुपैयाँ बराबरको मदिरा तस्करी भएको पाइएको छ ।

महुवाबाट भइरहेको तस्करी रोक्न स्थानीय प्रहरीले सहयोग नगर्दा शुक्रबार राति प्रदेश नम्बर २ प्रहरी कार्यालयका एक हवल्दार नै तस्करद्वारा लखेटिएका छन् ।

शुक्रबार राति ११ बजेर ४४ मिनेटमा महुवाबाट २० वटा साइकलमा बोराभित्र कार्टुन हाली भारततर्फ जाँदै गरेको बेला प्रदेश प्रहरी कार्यालयका हवल्दारले रोकेका थिए ।

सहयोगका लागि उनले तत्काल इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायव निरीक्षक (सइ) कल्याण आले मगरलाई फोन गरेका थिए । तर, सम्पर्क नहुँदा तस्करहरु उनीमाथि नै जाइलागे ।

तस्करको आक्रमणबाट जोगिन हवल्दार मोटरसाइकल छोडेर भागेका थिए । उनी भागेपछि तस्करहरुले पहिलेझैं साइकलमा लोड गरिएको मदिरा लिएर भारततर्फ लगेका छन । तस्करहरुले नेपालबाट मदिरा तथा भरतबाट रजनीगन्धा खैनी बोरामा ल्याउने गरेकोे स्थानीयको भनाईछ ।
यसैगरी सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले भने महुवामा तस्करसँग प्रहरीको कुनै घटना नभएको बताएका छन् ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले प्रदेश प्रहरी कार्यालयबाट अनुगमनमा खटिएका प्रहरीलाई सहयोग गर्न स्थानीय प्रहरी समयमा नआएका कारण भाग्नुपर्ने अवस्था आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button