महोत्तरीमा मुसहरलाई नयाँघर उपहार



मेरो प्रदेश सम्वाददाता
महोत्तरी


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको ‘तराई मधेश समृद्धि कार्यक्रम’अन्तर्गत महोत्तरीको गौशाला नगरपालिका–१२ गैरीटोल मुसहरीका १६ घरपरिवार मुसहरले जारी लकडाउनभित्र नयाँ पक्की घर उपहार पाएका छन् ।

नयाँ घर पएपछी मुसहरहरु शुक्रबार नै पराले झुप्रा बस्तीबाट पोकापन्तरा बोकेर बाजागाजा बजाउँदै नयाँ घरमा सर्दा मुसहर बस्तीमा उत्सव छाएको छ । नयाँ घर पाएपछि उनीहरु दङ्ग र प्रफुल्लित छन् ।

एउटै बस्तीभित्र एकै आकारका १६ वटा नयाँ घर छन् । भूकम्प प्रतिरोधी सबै घरमा इँटाको गारो र निलो रङको जस्तापाताका छाना लगाइएको छ । शौचालय, सडक, विद्युत् र खानेपानी सुविधासहितको नयाँ बस्तीमा बरण्डा र फराकिला तीन कोठा छन् । सुविधासम्पन्न १६ घरको एकीकृत नमूना नयाँ बस्ती अहिले परैबाट चम्किरहेको देख्न पाईन्छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रु एक करोड र महोत्तरी–१ ‘ख’ का प्रदेशसभा सदस्य भरतप्रसाद साहको क्षेत्र विकास कोषको रु छ लाख ६६ हजारसहित जम्मा रु एक करोड छ लाख ६६ हजारको लागतमा मुसहरका लागि १६ घर तयार भएको हो ।
एक घर निर्माणमा रु छ लाख ६६ हजार खर्च भएको गौशाला–१६ का वडाध्यक्ष कृष्णबहादुर विश्वकर्माले जानकारी दिए ।

लकडाउनले घेरिएर बाहिर कामकाज गर्न जान नपाएर खानपिउन नै समस्या भइरहेका बेला नयाँ पक्की घर पाएपछि मुसहर परिवार दङ्ग देखिएका छन् । ‘हजुर घाम र पानी नछेल्ने पराले झुप्रामै हाम्रो जिन्दगी बित्यो’, नयाँ घरमा सरेपछि ५० वर्षीय दशैयाँ सादाले भनिन, ‘अहिले यी घर पाएपछि हामीलाई हेर्ने पनि सरकार रछ भन्ने लागेको छ ।’

एक वर्ष्भित्रै नगरका अन्य ४, ६ र ८ नम्वर वडाका ७१ परिवार मुसहरलाई नयाँ पक्की घरमा सारी सकिने नगरप्रमुख शिबनाथ महतोले बताए । प्रदेश २ सरकारको जनता आवास कार्यक्रमअन्तर्गत यो काम शुरु भइसकेको महतोको भनाइ छ ।

नयाँ बस्ती बसाउन १८ कठ्ठा जग्गाको व्यवस्थापनमा गौशाला–१२ का स्थानीय माधव मोक्तानले रु पाँच लाख र १२ नम्वर वडा समितिले विभिन्न व्यक्ति र सङ्घसंस्थासँग समन्वय गरेर रु तीन लाख व्यवस्था गरेको गौशाला नगर कार्यपालिका कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button