मलंगवा नगरपालिकाले ४३ जना मेस्तरलाई कामबाट निकाल्यो



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीको मलंगवा नगरपालिकाले नगरपालिका क्षेत्र भित्र सरसफाईको काम गर्ने सम्पूर्ण मेस्तर कामदारहरुलाई कामबाट निकालेको छ ।


नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले अहिलेका सबै सरसफाई गर्ने कामदारलाई कामबाट हटाएर प्रत्येक वडाले तत्कालै नयाँ कामदार खोजेर सरसफाईको काम अघि बढाउने निर्णय गरेको मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले जानकारी दिए ।

हाल बिश्व भरीनै महमारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) बाट बच्न सरसफाईमा अझ बढी ध्यान दिनुपर्ने समयमा काम गर्नै नआएर असहयोग गरेको भन्दै नगरपालिकाले ४३ जना मेस्तरहरुलाई एकै पटक कामबाट हटाएको हो ।

मलंगवाका मेस्तरहरुले केही दिनदेखि सरसफाईको काम रोकेर स्वास्थ्यकर्मीलाई झैं आफूहरुलाई पनि पीपीई सेट (व्यक्तिगत सुरक्षा सामग्री) दिनु पर्ने, २० लाख रुपियाँको बीमा गर्नुपर्ने, विपन्न परिवारलाई जस्तै राहत दिनुपर्ने लगायतका माग राखेका छन् ।
यता मेस्तरहरुको माग सम्वोधन गर्नै नसकिने भन्दै आन्दोलनमा उत्रिएर सरसफाई नगरेका हालका मेस्तरहरुलाई बाध्य भएर कामबाट निकाल्नु परेको नगरप्रमुख साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button