सर्लाहीमा राहत वितरण गर्ने क्रममा विवाद हुँदा अश्रुग्यास प्रहार



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा राहत वितरण गर्ने क्रममा विवाद हुँदा भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।


मंगलबार राहत लिन पुगेका ईश्वरपुर नगरपालिका– १५ स्थित वडा कार्यालयमा स्थानीयले निष्पक्ष ढंगले राहत वितरण नगरेको भन्दै नाराबाजी र ढुंगामुढा प्रहार गरेपछी भिड नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा प्रहरीले दुई राउन्ड अश्रुग्याससमेत प्रहार गरेको हो

वडाध्यक्ष कपिलदेव चौधरीले वास्तविक विपन्न र खान नपाएकालाई उपेक्षा गरेर राहत बाँडेको आरोप लगाउँदै एक सय ५० को संख्यामा उपस्थित भएका स्थानियले एक्कासि होहल्ला गर्दै ढुंगामुढा गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुपरेको दाबी गरेको छ । उनीहरूले वडाध्यक्ष चौधरीविरुद्व नाराबाजीसमेत गरेका थिए ।

भीड नियन्त्रण गर्ने क्रममा इलाका प्रहरी कार्यालय केशरगन्जका दुई प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी सहायक निरीक्षक रामवीरेन्द्र यादव र प्रहरी जवान भागेश्वर यादवको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनीहरूको हात र खुट्टामा चोट लागेको छ ।

यसैगरी वडाध्यक्ष चौधरीले राहत वितरणमा आफुले पक्षपात नगरेको बताएका छन् । ‘वडाका सबै लाभग्राहीको नाम संकलन गरेको आधारमा राहत बितरणको तयारी गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button