वीरगञ्ज कारागारबाट दुई भारतीयसहित ३३ जना कैदी बन्दी कैद मुक्त

मेरो प्रदेश सम्वाददाता
पर्सा
कोरोना भाइरसको सङ्क्रमण संत्रासका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई कैद मुक्त गरेको छ ।
सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका कैदीबन्दीले दिनको रु ३०० जरिवाना तिरेर छाड्ने निर्णय गरेपछि जिल्ला अदालतमा ३८ जनाले दिएको निवेदन अनुसार ३८ जनामध्ये ३३ जनालाई छाडिएको जेलर श्रवणकुमार पोखरेलले बताए ।
बाँकी पाँच जना कैदीबन्दी सजाय भुक्तानका लागि प्रक्रियामा रहेका छन् । छुट्ने कैदीमध्ये विशेष गरी बहुविवाह, सवारी ज्यान, कुटपिट, किर्ते, ठगी, लागुऔषध, चेलीबेटी बेचविखनलगायत मुद्दामा सजाय काटिरहेको कैदी रहेका छन ।