आगलागीबाट चार घर जलेर नष्ट



मेरो प्रदेश सम्वाददाता
हलेसी
हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले हात्तीटारका आगलागी पिडितलाई आज सो नगरपालिकाले खाद्यान्न तथा बन्दोबस्तीका सामान प्रदान गरेको छ । नगरपालिकाकाले प्रतिघर २० केजीका दरले चामल, दाल, नून, तेल, भाँडाकुँडा, त्रिपाल, कम्बललगायत राहत सामग्री प्रदान गरिएको नगर प्रमुख इवन राईले बताए । आगलागीबाट चार घर जलेर नष्ट भएको छ । केटाकेटीले खेलाउँदै गरेको आगो हावाले उडाएर घरमा पर्याउदा स्थानीय लोकेन्द्र माझी, जोखे माझी, सीतादेवी माझी र झनबहादुर थापाको घर जलेर नष्ट भएको हो । आगलागीमा झनबहादुरको अनुमानित रु आठ लाख, लोकेन्द्रको रु पाँच लाख, जोखेको रु पाँच लाख र सीतादेवीको करीब रु चार लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ
सल्लेस्थित वडास्तरीय विपत् व्यवस्थापन कोषबाट वडाध्यक्ष काशीराज राईले अग्निपीडित प्रतिपरिवार रु तीन हजारका दरले राहत रकमसमेत प्रदान गरेकोे जनाइएको छ ।
स्थानीय दूधकोशी युवा क्लबले पनि आगलागीबाट विस्थापित परिवारलाई अस्थायी आवास एवं खाद्यान्न सहयोग गरेको छ । आगलागीमा धनमाल नष्ट भएपछि स्थानीयवासीको बिचल्ली भएको उनिहरुले बताएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । मङ्गलबार अपराह्न भएको आगलागी स्थानीयवासीले साँझ मात्र नियन्त्रणमा लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button