मुसहरले पाएनन् लालपूर्जा



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा जग्गा खरिद गरेको वर्षौ बित्दासमेत आफ्ना नाममा लालपूर्जा नपाएपछि महोत्तरी गौशाला नगरपालिकाका दर्जनौँ मुसहर समुदाय चिन्तित भएका छन् ।
गौशाला नगरपालिका–१० स्थित मुसहर बस्तीका ५५ घरपरिवारका पुर्वजले वर्षौँ अघि बसोबास गर्नका लागि स्थानीयवासी खेमराज ढकाल र ब्रह्मानन्द ढकालसंग खरिद गरेको जग्गा आफुहरुको नाममा नामसारी नहुँदा उनिहरु चिन्तित भएका हुन् ।


सो बस्तिका ६५ वर्षका झौली सदाले भने, ‘आफूले जीवनमा अनेकौ पटक ढकाल दाजुभाइलाई जग्गा नामसारीका लागि आग्रह गरेका थियौं । तर, उनीहरु समक्ष गरिएको प्रयास पटक पटक असफल भयो अनेकौंपटक जग्गाको सम्बन्धमा खेमराज र ब्रह्मानन्द ढकालसमक्ष आग्रह गरिएको तर कुनै सुनवाइ हुनसकेको छैन ।’

डेढ बिघा क्षेत्रफलमा आफूहरुको ६० घरपरिवारले बसोवास गर्दै आएका समाजका अगुवा (माईजन) मुकुन्द सदाले जानकारी दिए ।

मुकुन्द सदाले अगाडि भने, ‘अहिलेसम्म हामीहरुको विश्वासको भरमा जग्गामा घर बनाएर बसोबास गर्दै आएका छौँ । कही कुनै किसिमको अप्ठ्यारो भएन । ढुक्कका साथ बस्दै आएका छौ ।’

अब आफूहरुलाई चिन्ताले सताउन थालेको सदाले उल्लेख गर्दै थप्दै भने, ‘अब नाम सारिको प्रक्रियामा लाग्नुपर्छ । समय अनुसार मान्छेको सोचाई परिवर्तन हुने भएकोले अधिक विश्वास गर्दा पनि मान्छेलाई वेफाईदा हुन्छ । आफुहरुले यस विषयमा जानकारवालासँग छलफल गरि कदम उठाउनु पर्ने आवश्यक रहेको छ ।’

विसं १९८० मा सिरहाबाट मजदूरीका लागि आएका मुसहर समुदायलाई स्थायी रुपमा बसोवास गर्न स्थानीय ढकाल दाजुभाइले सो जग्गा उपलब्ध गराएको प्रकाशबहादुर श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘जग्गा खरीदबिक्री भएको दशकौ बितिसकेको छ । यस अवधिमा जग्गा खरिद गर्ने र बिक्री गर्ने दुवै पक्षमध्ये अधिकांशको मृत्यु भइसकेको छ ।’

अब सरकारले नै उनीहरुको समस्याको सम्बन्धमा पैरवी गर्न सकिने श्रेष्ठले धारणा राखे ।

मुसहर समुदाय आर्थिक रुपमा विपन्न, अशिक्षित भएकै कारण उनीहरुलाई सुलभ रुपमा विश्वास कायम गरी जग्गाधनीले वर्षौ बित्दासमेत नामसारी नगरिदिँदा मुसहर समुदायमा कसैको नाममा लालपूर्जा नरहेको स्थानीय नेता मनु अधिकारीले बताए ।

वर्षौँ पहिले खिरखिरिया डाँडाले परिचित रहेको सो स्थानमा सिरहाबाट आएका मुसहर जग्गा खरिद गरी बस्ती बसालिएको नेता अधिकारीले जानकारी दिए । सो जग्गा अहिले कानूनरुपमा नभए पनि स्थानीयवासीले भोगचलनको आधारमा मौखिक रुपमै जग्गाको समेत कारोवार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button