विष्णु पौडेलका छोरा नवीन र न्यायाधीश रेग्मीको बालुवाटारको जग्गा सरकारी कायम

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले किनेको ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ। अख्तियार दुरुपयोग अनुशन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि रेग्मी र पौडेलको नाममा रहेको जग्गा सरकारको नाममा ल्याइएको भूमसिुधार तथा मालपोत कार्यालय डिल्लीबजार स्रोतले बताएको छ। सरकारी जग्गा फिर्ता गर्ने जनाएपछि गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पनि उनीहरूमाथि भने मुद्दा दायर गरेको थिएन। मुद्दा दायर नगर्नुको कारणमा सरकारलाई जग्गा फिर्ता दिन मञ्जुर भएको बताइएको थियो। तर, आयोगले दर्ता गरेको अभियोग पत्रपछि अदालती प्रक्रिया सुरु नहुँदै हिजो हतारहतार दुवैको संलग्नतामा जग्गा सरकारको नाममा नामसारी गरिएको हो। मालपोत कार्यालय डिल्लीबजार स्रोतले अख्तियारको निर्देशनको पालना गर्दै पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा खिचेको थाहासंचार नेटवर्कलाई बतायो। अख्तियारले दुबैलाई मुद्दा नलाग्ने बताएपछि यसको चौतर्फी विरोध हुँदै आएको छ। अदालती प्रक्रियामा प्रवेश भएको विषय अन्तिम निर्णयमा पुग्नुअगाडि नै हतारहतार जग्गा फिर्ता गर्नुले थप शंका उब्जाएको छ।
थाहा खवर