फेक इन्काउन्टर’ मा संलग्न प्रहरीलाई संरक्षण



गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कारबाहीको तयारी गरेको छ । आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन नगरेपछि कारबाहीस्वरुप कालोसूचीमा राख्न लागेको हो ।


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकाल्दै आयोगले त्यसमा संलग्न प्रहरीलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको थियो । इन्सपेक्टर कृष्णदेवप्रसाद साह, हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई मुद्दा चलाउन सिफारिस गरिएको थियो । त्यससम्बन्धी पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयबाटै अघि नबढाएको भन्दै आयोगले कारबाही गर्न लागेको हो । आयोगको सिफारिस कार्यान्वयन नगर्नेलाई उसले कालोसूचीमा राख्ने गर्छ । मुख्यसचिव रेग्मी र महानिरीक्षक खनाल यसको कार्यान्वयन गर्ने तहमा भए पनि संरक्षण गरेको आयोगको निष्कर्ष छ

आयोगले गत ४ कात्तिकमा तीन महिनाभित्र सिफारिस कार्यान्वयन गर्न पत्राचार गरेको थियो । गत ४ माघमा सिफारिसको तीन महिना पुगे पनि दोषी प्रहरीलाई कारबाही नभएपछि आयोगले शुक्रबार दोस्रोपटक सरकारलाई सिफारिस कार्यान्वयन गर्न ताकेता गरेको छ । ‘सिफारिस गरेको तीन महिनासम्म कार्यान्वयन गरेकोबारे कुनै जानकारी प्राप्त भएन,’ आयोगका सदस्य गोविन्द शर्मा पौडेलले भने, ‘के कारणले कार्यान्वयन नभएको हो भनेर फेरि ताकेता गरेका छौँ ।’ अझै पनि सिफारिस कार्यान्वयन नगरे उनीहरूलाई मानवअधिकार हननकर्ताको सूचीमा राख्ने आयोगको तयारी छ । आयोगको निर्णय कार्यान्वयन नगर्नेहरू कानुनी कारबाहीमा पर्ने उनको भनाइ छ । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button