सर्लाहीमा किर्ते कागजगरी ठगीमा परेका पीडितलाई आईजीपी सर्बेन्द्र खनालले भने,राय र रौनियारलाई तह लगाउँछौ



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीका राजु कुुुसवाहले रामबाबु रायबाट ९ लाख रुपैयाँ ऋण लिएर २७ लाखको कपाली तमसुख बनाए। ब्याज समेतको रकम गरी १९ लाख ७३ हजार चुक्ता गर्दा पनि उनको तमसुख च्यातिएको छैन्। कुसवाहा मात्रै होइन सर्लाही जिल्लाका अधिकांश स्थानीय रायबाट पीडित छन्। ऋण दिने र तीन गुणाबढीको कागज बनाएर घर जग्गा समेत आफ्नो नाममा राख्ने गरेको स्थानीयहरुले बताउँदै आएका छन्।
सर्लाहीमा रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बसेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन्। ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयको छ । फिर्ता नगर्ने राय र रौनियारका साँवा ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको आरोप छ।
सञ्जय रौनियारबाट जग्गा किन्न भनेर एक करोड ऋण लिएका रविन्द्र कुसहवालाई उनले तीन करोडको कागज बनाए। पूख्र्यौली सम्पत्तिमध्ये ३४ कट्ठा घडेरीसहित ४० कट्ठा जग्गा उनले आफ्नो साहुको नाममा गरिदिए। तर, अहिले रौनियारले कुसहवाको २ करोड ५५ लाख बराबरको घडेरी र जग्गा बिक्री गरिसकेका छन्। पटक पटक आफ्नो जग्गा नबेच्न आग्रह गर्दा समेत रोनियारले जग्गा बेच्न छोडेका छैनन्। रौतियारलाई भेट्न खोज्दा समेत विभिन्न बाहना गरेर भेट्न नै नखोज्ने गरेको गुनासो कुसहवाले गरे।
देवी महतोले ३५ हजार ऋण लिएर ४ कट्ठा जमिन साहुको नाममा गरे। १ लाख ५० हजार तिरेर जग्गा फिर्ता माग्न जाँदै उल्टै तीन लाख थप माग गरियो र उनको परिवारलाई घरबाट नै निकालियो । राय र रौनियारले स्थानीयहरुको करोडौँ रुपैयाँ ठगेर उनीहरुको जग्गा पनि हडप्ने गरेका छन्। ऋण दिएको पैसाभन्दा तीन गुणाबढीको कागज बनाउने र जग्गा समेत आफ्नो नाममा गरि पैसा चुक्ता गर्दा समेत जग्गा फिर्ता नदिने गरेको स्थानीय बताउँछन। गरिब जनताहरुको पसिनामाथि रजाई गर्ने राय र रौनियार जस्ता ठगहरुलाई सरकारले कारबाहीको दायरमा ल्याएर न्यायको अनुभूति गराउन आवश्यक छ।
न्यायको खोजीमा महतो राजधानी आएका छन्। न्याय खोज्दै आएका उनीहरुले बुधबार महान्यायाधीवक्ता अग्नि खरेल र प्रहरी प्रमुख सर्वेन्द्र खनालसँग भेट गरी न्याय दिलाइदिन माग गरेको छन्।
भेटमा महान्यायाधीवक्ता खरेलले ठगहरुलाई पक्राउ गरी जग्गा फिर्ता गर्ने आश्वासन दिँदै स्थानीय प्रशासनमा उजुरी दिन आग्रह गरेका छन्। ‘न्यायका लागि भनेर राजधानी आउनुभयो ठिक गर्नुभयो। तर, लिएको पैसा भन्दा तीन गुणा बढीको कागज तपाईंहरुले पनि गल्ती गर्नुभएको छ। अहिले जे जे बोल्नुभएको छ, त्यही कुरा लेखेर प्रहरीमा निवेदन दिनुहोस्। न्याय पाउनुहुन्छ’, उनले भने।
प्रहरी प्रमुख सर्वेन्द्र खनालले श्याम परदेशी लगायतका ठगहरुलाई तह लगाइएको बताउँदै राय र रौनियारलाई समेत नछोड्ने प्रतिवद्धता व्यक्त गरे। ‘सम्बन्धित जिल्लामा उजुरी दिनुहोस् तपाईंहरुले न्याय पाउनुहुन्छ’, पीडितसँग प्रमुख खनालले भने, ‘फटाहा बदमासहरुलाई तह लगाउँछौँ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button