विराटनगरमा दश रुपैयाँमा भरपेट खाना खुवाउने अभियान लोकप्रिय बन्दै



१० रुपैयामा खाना

विराटनगरको मेनरोडस्थित जैन भवन छेउमा केही दिनयता निकै ठूलो भिड देखिने गर्छ।


बटुवाहरू के भएछ भनेर हेर्छन्।

सडकपेटीमा टाँगिएको टेन्टमुनि हातमा थाल लिएका मानिसहरूको लामो लाइन हुन्छ।

पढ्न सक्नेले भरपेट खानाको रु १० टेन्टमा लेखिएको पढ्छन्।

थाहा पाउनेहरू आज कस्तो भिड रहेछ भनेर हेर्दै अघि बढ्छन्।

१० रुपैयामा खाना

अघिल्तिर ठूलो भड्डुबाट भात र तरकारी पस्केर दिन केही मानिसलाई भ्याइनभ्याइ हुन्छ।

कतिपय चाहिँ त्यतै रोकिएर १० रुपैयाँ तिरेर कुपन लिन्छन र स्टलतिरको लाइनमा बसेर खाना खान्छन्।

विराटनगरका चार जनाले समाजसेवा गर्ने भावनाले सुरु गरेको सस्तो खाना खुवाउने अभियानमा सर्वसाधारणदेखि राम्रै आम्दानी हुने मानिसहरूको भिड लाग्न थालेको उक्त अभियानमा लागेकाहरूले बताएका छन्।

होटलमा धेरै पैसा तिरेर खाना खान नसक्ने गरिब, मजदुर लगायत सर्वसाधारणलाई लक्षित गरी १० रुपैयाँमा तात्तातो भात र तरकारी खुवाउने उद्देश्यले १० दिनअघि उक्त अभियान सुरु गरिएको थियो।

पैसा भएर पनि तातो र ताजा खाना नपाउनेहरूलाई पनि उक्त अभियानले तानेको छ।

विराटनगर महानगरपालिकाको मेनरोडमा सञ्चालित सस्तो भरपेट खाना खान दैनिक चार सय जनाभन्दा बढी मानिस आउन थालेको उक्त अभियानका अगुवा दिलिप धाडेवाले बताए।

श्रीमान्‌सहित सस्तो खाना खान आएकी विराटनगरकी चन्द्रकला कार्कीले १० रुपैयाँमा बासमती चामलको तात्तातो भात पाउदा आफू दङ्ग परेको बताइन्।

उनले भनिन्ः “१० रुपैयाँमा चिया पनि पाइँदैन ,यहाँ पेटभर खाना पो पाइँदो रहेछ।”

विराटनगरकै जुली चक्रवर्ती पनि परिवारसहित बजार घुम्न आउँदा सस्तो खाना खुवाइने स्टलमा भेटिइन्।

उनले भनिन्, “बजारमा किनमेल पनि थियो। शनिवार फुर्सदको दिन किनमेलसँगै केटाकेटीलाई घुमाउने र यही खाना खानेगरी सपरिवार बिहानै आएको।”

“जाडोमा तात्तातो खान पाइयो, मीठो पनि लाग्यो” चक्रवर्तीसँगै आएकी पार्वती मण्डलले भनिन्।

अभियानकर्मीहरूका अनुसार हरेक दिन फरकफरक तरकारी पकाउने गरिएको छ।

कहिले राजमा, कहिले काउली, कहिले अन्य गेडागुडी पकाउने गरिएको छ। त्यहाँ लसुन र प्याजरहितको तरकारी पकाइन्छ।

दैनिक करिब ८० केजी चामलको भात पाक्ने गरेको अभियानकर्मीहरू बताउँछन्।

खाना खानेहरूलाई प्लाष्टिकको प्लेटमा दिइन्छ र जारको पानी पिउन पाइन्छ।

टोकन प्रणाली

हरेक दिन बिहान ११ बजे खाना खाने समय तोकिएको छ।

एघार नबज्दै स्टलवरपर भिड लाग्ने गरेको छ।

भिडलाई व्यवस्थित गर्न आयोजकहरूले टोकन प्रणाली लागु गरेका छन्।

स्टलमै खानेले १० रुपैयाँ तिरेपछि टोकन लिएर लाइनमा बसेपछि खाना पाउँछन्।

घरमा लगेर खानेहरूका लागि होमप्याकिङको व्यवस्था पनि छ। होमप्याकिङ खानाको मूल्य चाहिँ प्रतिप्लेट २० रुपैयाँ पर्छ।

अभियानकर्मीहरू पनि अरुसँगै त्यहीको खाना खान्छन्।

कलाकारदेखि जनप्रतिनिधिसम्म

सस्तो खानाको चर्चा निकै चलेपछि सर्वसाधारणदेखि उच्च वर्गका मानिसहरू पनि त्यहाँ खाना खान र सहयोग गर्न उत्सुक देखिएको अभियानकर्मीहरू बताउँछन्।

सुरुमा सस्तो खाना खान हिच्किचाउनेहरू केही दिनमै अहिले सेल्फी खिच्दै खाना खाएको फोटो सामाजिक सञ्जालमा हाल्ने गरेका छन्।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, कलाकार दिपाश्री निरौला लगायतले स्टलमा आएर १० रुपैयाँ तिरेर खाना खाएको आयोजकहरूले बताए ।

उनीहरूले अभियानमा आर्थिक सहयोग पनि गरेको बताइएको छ।

विराटनगरका मेयर भीम पराजुलीले यस्तो सामाजिक कामका लागि महानगरले पनि सहयोग गर्ने बताए।

सहयोगी दाता थपिँदै

चार जनाले थालेको सस्तो खाना खुवाउने अभियानमा सहयोगी दाताहरू थपिँदै गएको उनीहरूले बताएका छन्।

चामल, तरकारी, भाडावर्तन, पकाउने ग्यास र भान्सेको खर्चको व्यवस्थापन भात बेचेको पैसा र सहयोगीहरूले दिएको पैसाबाट हुँदै आएको छ।

यस्तो अभियानलाई निरन्तरता दिने योजना रहेको उनीहरूले बताएका छन्।

त्यसका लागि उपयुक्त जग्गाको खोजी भइरहेको उनीहरूको भनाइ छ।

विराटनगरमा १० रुपैयाँमा भात खुवाउने अभियान सञ्चालन भएपछि अन्य ठाउँमा पनि त्यस्तै खाले अभियान सुरु भएको छ।

झापाको दमक र सुनसरीको इटहरीमा पनि सस्तो खाना खुवाउन थालिएको बताइएको छ   बि बि सी नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button