हत्या गरी फालिएको शव ३२ दिनपछि फेला

मेरो प्रदेश सम्वाददाता
ताप्लेजुङ
तमोर नदीमा ३२ दिनअघि हत्या गरेर फालिएकी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका(२ फूलवारीकी मन्दिरा अधिकारीको शव भेटिएको छ।
तेह्रथुम तमोर फाक्चुवा दोभानको बगरमा बिहीबार माछा मार्ने क्रममा पाँचथर सिम्लेका धनबहादुर माझीले शव भेट्टाएका हुन्। माछा मार्ने क्रममा शव भेटेपछि आठराई तेह्रथुममा रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए। अनुहारको पहिचान गर्न सकिने अवस्थामा भए पनि उनले दाहिने हातमा लगाएको चुरा र जिउमा लगाएको रातो टि–सर्टका आधारमा शवको पहिचान गरिएको मन्दिराका काका चन्द्र अधिकारीले बताए। अप्ठ्यारो ठाउँमा शव भेटिएकाले शवलाई तमोरभ्याली ट्राभल्सको ढुङ्गामार्फत् सिम्राहाको पुलमा निकालिएको चन्द्रले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काको नेतृत्वमा खटिएको टोलीले शव फेलापरेको स्थानबाट उठाएको हो। ‘दुई दिनअघि माझीले भेट्टाएको शव मन्दिराकै हो, भन्ने पुष्टि भइसकेको छ,’ शव भेटिएको स्थानबाट अस्पताल नजिक पर्ने भएकाले पाँचथरमा पोष्टमार्टम गर्न लागिएको हो।’ हत्याको आशंकामा मृतककै दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पुस ९ गते पक्राउ गरिसकेको छ। उनले मन्दिराको हत्या आफुले नै गरेको भनेर स्वीकारेका प्रहरीले जनाइएको छ। मंसिर १७ गते राति ताप्लेजुङको नाङखोल्याङ र फूलबारीको सिमाना भएर बग्ने तमोर नदीको किनारमा रहेको खेतमा हत्या गरेर शव मित्लाको झोलुङ्गे पुलबाट नदीमा फालेको बयान रमेशले प्रहरीसँग दिएका छन्।
मन्दिराका परिवारले मन्दिराको अपहरण र बलात्कारपछि हत्या भएको दावी गर्दै आएका छन । घरमै आएर अपहरण गरी तमोर किनारमा लगेर बलात्कारपछि हत्या भएको हो,’ मन्दिराका बुबा नन्दकुमार अधिकारीले भने। शव नभेटिएका कारण उनलाई हालसम्म बेपत्ताको सूचिमा राखिएको थियो। हत्या आरोपित रमेशलाई व्यक्ति बेपत्ताको कसुरमा सुरुवाती अनुसन्धान भए पनि अब ज्यान उद्योगमा मुद्या दर्ता गरिने प्रहरीले जनाएको छ ।