उखु किसानको पैसा नदिने उद्योगीलाई कारबाही हुने

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखुको पैसा किसानहरुलाई नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको सिंहदरबारमा सोमबार बसेको बैठकले उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएपछि समितिले उक्त निर्देशन दिएको हो।
किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो। समितिमा उपस्थित भएका उखु किसानहरुले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको बताएका छन्। त्यस्तै सरकारले दिने अनुदान समेत नपाएको र उखु मिलले उचित मूल्य नदिएको गुनासो किसानहरुको थियो।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चिनी मिलका सञ्चालकहरु भागेको बताए। उनले किसानहरुको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको र सरकारले खोजिरहेको बताए।
किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाडौंको माइतिघरमा किसानहरुले आन्दोलन गरिरहेका छन्।