महेन्द्रनगरमा बम बिस्फोट गराउने गिरोह पता लाग्यो



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाका दोषी पत्ता लागेको छ । बिप्लव समूहको नाममा अपराधिक समूहले लेनदेनकै कारण टाइम बम विस्फोट गराएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्नकुमार कार्कीले जानकारी दिएका छन्।
‘विप्लवको खोल ओढेर धम्क्याउने, पैसा उठाउने अपराधी क्रियाकलाप गर्ने मान्छेहरु हुन्। पैसा टन्नै थियो। पटक(पटक वार्न गरेको देखिन्छ,’ उनले भने, ‘वार्न गरिसकेपछि टेसनको लागि बम राखे। त्यहीबीचमा मान्छे त्यहाँ पुग्यो। टाइम पुगिसकेपछि विस्फोट भयो। कसैले छोएर वा उचालेर बम पडकेको होइन।’


मङ्सिर २७ राति टाइम बम प्रयोग गरी घटना घटाउने मुख्य योजनाकारसहित संलग्न करिब ९ जनाको पहिचान भइसकेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्नकुमार कार्कीले जानकारी दिएका छन्।

बम राख्नुअघि पटक(पटक घरधनी राजेश साहलाई धम्की दिइएको अनुसन्धानबाट खुलेको छ। आर्थिक कारोबारकै कारण घटना घटाइएको उनको भनाइ छ। घटनामा संलग्नमध्ये केही अभियुक्त पक्राउ परेका छन्। तर, घटनाका मुख्य योजनाकारसहित संलग्न अन्य अभियुक्त फरार छन्।

घटनाको अनुसन्धानको क्रममा करिब ५ जनालाई नियन्त्रणमा लिइ सार्वजनिक अपराधको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषाका डिएसपी रामेश्वर कार्कीले बताए।

प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय धनुषा, केन्द्रिय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयबाट अनुसन्धानका लागि गठन गरिएको टोलीले संयुक्त रुपमा विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको डिआइजी कार्कीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button