मुग्लिन नारायणगढ सडकखण्ड दिउँसो २२ गतेसम्म बन्द हुने



मेरो प्रदेश सम्वाददाता
चितवन
नारायणगढ मुग्लिन सडकखण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ । गएको मंसिर २७ गतेदेखि पुस ११ गतेसम्मका लागि बन्द गरेर काम भएको भए पनि काम नसकिएपछि फेरि समय थप गर्ने निर्णय भएको हो ।


सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको समयमा बन्द गरेर काम गर्ने निर्णय गरेको हो ।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर आवश्यक ८ स्थानमा पहिरो रोकथामको लागि काम गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुँदैछ । १३ करोड रुपैयाँको लागतमा बज्रगुरु हिमशिखर न्यु टेक्निकल जेभीले काम गरिरहेको छ । सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको छ । विश्व बैंकको ऋण सहयोगमा एसियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति गरीरहेको भए पनि सडक क्षेत्रमा पहिरो रोकथामका लागि आवश्यक संरचना निर्माणको काम बाँकी रहेको थियो ।
नारायणगढबाट मुग्लिनतर्फ आउने सवारीसाधनमध्ये यात्रुवाहक मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारमा र मालवाहक सवारी ट्रक, लरी, टेलर, टिप्पर र ट्यांकरलाई दासढुङ्गामा रोकिने छ ।

आयोजनालाई यस अगाडि दुई हप्ताको समय दिइएको भए पनि काम नसकिएपछि र फेरि ११ दिनको म्याद थप गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउऐ । आयोजनाले दुई हप्ताको समय माग गरेको थियो ।

मुख्य राजमार्ग भएकाले थप भएको समयभित्रै काम सक्नेगरी स्रोत, साधन प्रयोग गरेर काम गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । पोखराबाट काठमाण्डौ आवतजावत गर्ने सवारी साधन नरोकिने पनि उनले स्पष्ट पारे ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ । त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम यसअघि नै भइसकेको छ । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button