शीतलहर र चिसोले जनजिवन प्रभावित हुन थालेपछि दाउरा बितरण



मेरो प्रदेश सम्वाददाता
उदयपुर
केही दिनयता सुरु भएको शीतलहर र चिसोको कारण जनजीवन प्रभावित हुन थालेपछि उदयपुरको त्रियुगा नगरपालिका, डिभिजन वन कार्यालय तथा बिभिन्न स्थानीय संघ संस्थाले आगो ताप्नका लागि स्थानीयवासीलाई दाउरा वितरण सुरु गरेको छ ।
अत्यधिक शीतलहर र चिसोको प्रभाव बढेपछि डिभिजन वन कार्यालयले गाईघाटको बोक्से चौक, गाईघाट बजार, पुरानो गाईघाट, देउरी क्षेत्रमा ज्येष्ठ नागरिक र साना बाल बालिकाका लागि आगो ताप्न दाउरा वितरण गरेको हो । बिहीबार र शुक्रबार गरेर यी क्षेत्रमा दश क्विन्टल दाउरा बालेर ताप्नका लागि वितरण गरिएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।
नगरका गरिब मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गर्ने तयारीमा लागेको बताईएको छ । चिसोबाट बच्न गाईघाट त्रियुगा शान्तिधाम समितिले समेत पाँच क्विन्टलभन्दा बढी दाउरा किनेर गाईघाट मोतिगडा क्षेत्रमा वितरण गरेको शान्तिधाम समितिका अध्यक्ष गिरीराज खतिवडाले बताए ।
घरमा आर्थिक अवस्था कमजोर भएका कारण ओढ्ने ओछ्याउने कमजोर हुने यस क्षेत्रका मुसहर समुदायका परिवारहरु रातभरि नै आगो बालेर आगोको सहाराले रात कटाउन बाध्य छन । निरन्तर शीतलहरका कारण चिसो बढेपछि उदयपुरका धेरै विद्यालयका विद्यार्थीसमेत विद्यालय जान छाडेका सम्बन्धित विद्यालयका शिक्षकले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button