सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएपछी नवजात शिशुको बिचल्ली



पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् आमा विशाका को दुवै मिर्गौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन् । विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन् । एक÷एक दिनको अन्तरमा उनका मिर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ । उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । उनलाई
कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने चिकित्सकहरूले बताएका छन् । सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिनु परेको छ ।


डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उहाँका दुवै मिर्गौला फेर्नु पर्ने एउटै मात्र विकल्प रहेको चिकित्सकहरुले बताएका छन् । तर मिर्गौला दिनका लागि मान्छे पाउन पनि समस्या रहेको सविताले बताइन् । शल्यक्रिया गरेर निकालिएकी पहिलो सन्तान छोरीको विशाकाले मुख देख्नसमेत पाएकी छैनन् । जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएको नवजात शिशुलाई ल्याक्टोजिन खुवाएर प्राणबचाईएको सविताले बताईन । “यतिसम्म पीडा हुने रहेछ कि कुरै नगरौँ, १३ दिनकी छोरीलाई मसँग राखेर ल्याक्टोजिन खुवाएर प्राण धानेकी छु”, सबिता भन्छिन “जसोतसो आमालाई बचाउन पाए त यो छोरीको प्राण बाँच्ने थियो ।”

आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकाले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनको भनाईछ । विशाकाका श्रीमान् विनय परियार कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आएका छन । उनको कमाइ त्यति धेरै छैन, अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ । विशाकाका ससुरा पदम परियारसमेत अपाङ्ग छन् ।

विशाकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको आग्रह गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ चहारिरहनुभएको छ । मिडिया क्षेत्रका मान्छेसँग खासै परिचय नभएका कारण आफ्नो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने सविता बताउछीन। देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँड्न थालेकी छिन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button