कोरोना संक्रमण रोक्न प्रदेश सरकार गम्भीर छ : कृषि मन्त्री साह



राजविराज(सप्तरी), प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कोरोना भाइरस संक्रमणको प्रसार रोक्न प्रदेश सरकारले थप तदारुकता देखाउने बताएका छन् ।


उनले सप्तरी जिल्ला सदरमुकाम राजविराज क्षेत्रमा कोरोना भाइरस संक्रमण सामुदायिक स्तरमा फैलिएको प्रारम्भिक ठहर दुःखद र चिन्ताजनक भएको उल्लेख गरे ।

मन्त्री साहले शनिबार राजविराजमा जिल्लाका स्वास्थ्य अधिकारीहरूलाई संक्रमण नियन्त्रणका लागि हरसम्भव प्रयास गर्नुपर्ने निर्देशन दिँदै सम्पर्क विवरणका आधारमा अन्य शंकास्पद संक्रमितको खोजी, परीक्षण र उपचारजस्ता कार्यका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए ।

पछिल्लोपटक सप्तरी सदरमुकाम राजविराजमा कोरोना भाइरस संक्रमणका कारण एकको मृत्यु र उनका सम्पर्कमा रहेका २६ जनामा संक्रमण भएको पुष्टि भएपछि स्थानीय सरकारले अनिश्चितकालका लागि राजविराज क्षेत्रमा लकडाउन घोषणा गरेको छ भने स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सप्तरी मन्त्री साहको गृहजिल्ला हो ।

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका पुरुषको घर रहेको राजविराज नगरपालिका–६ लाई अहिले सिल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले साधनस्रोत अभावमा कोरोना भाइरस संक्रमणको पछिल्लो स्वरूपसँग लड्न कठिन भइरहेका बेला मन्त्री साहले प्रदेश सरकारले आवश्यक साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

उनले भने, ‘हामीहरूसँगको भेटमा मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउतसँग फोन संवाद गरी कोरोना भाइरस संक्रमणको प्रसार रोक्न आवश्यक साधनस्रोतका बारेमा कुरा गर्नुभएको छ ।’ सप्तरीमा कोभिड–१९ का शंकास्पद रोगीहरूलाई राख्नका लागि ८३ वटा क्वारान्टाइन छन् ।

ती क्ववारान्टाइनलगायत विभिन्न ठाउँमा शंकास्पदको स्वाब परीक्षणका लागि ६ जना खटिएका छन् । सुरक्षा सतर्कताका कारण ती जनशक्ति समेत क्वारान्टाइन बस्नुपर्ने अवस्था छ । तर बजेट अभावमा उनीहरूका लागि भोजन र अन्य अत्यावश्यक व्यवस्था गर्न मुस्किल परिरहेको यादवको भनाइ छ । सम्पर्क विवरणका आधारमा अहिले वडा नं. ६ का शंकास्पदहरूको स्वाब परीक्षण गरिँदैछ ।

यस वडामा रहेका करिब एघार सय घरपरिवारका लागि स्वाब परीक्षण गर्न तत्काल पाँच हजार भिटिएम आवश्यक परे पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार एक हजार भिटिएम पठाएको छ । जिल्ला स्वास्थ्य प्रमुख यादवले एन–९५ मास्क र सेनिटाइजर समेतको अभाव रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close