कुखुरा व्यवसायीको मर्का बुझ्न कृषि मन्त्री साह कुखुरा फारममा



विजय साह
वर्दिबास (महोत्तरी)
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कुखुरा पालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि दाना उपलब्धता, ढुवानी व्यवस्थापन र चल्ला विक्रीवितरण कार्यमा प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । उनले लकडाउनका कारण कृषिक्षेत्र नै प्रभावित भएको भन्दै गर्दै कुखुरा पालन व्यवसायमा परेको असर न्यूनीकरणका लागि सरकारले राहत तथा पुनसर््थापना कार्यक्रम ल्याएको उल्लेख गरे ।


शनिबार महोत्तरीको वर्दिबासस्थित अविरल ह्याचरीको अवलोकन गर्दै मन्त्री साहले लकडाउनका कारण बजार व्यवस्थापन हुन नसक्दा र अन्य कारणले डिस्पोज गरिएका चल्ला र व्यवसाय पुनसर््थापनाका लागि चल्लाबापत सरकारले कृषकलाई रकम दिने जानकारी दिए । बन्दाबन्दीका कारण बजार अभाव र दाना व्यवस्थापन हुन नसक्दा ह्याचरीहरूले चल्ला उत्पादन गर्न छाडेका थिए भने तयारी कुखुरा अभावमा कुखुराको मूल्यसमेत वृद्धि भएको छ ।

मन्त्री साहले कृषिक्षेत्रलाई प्राथमिकतासाथ अगाडि बढाउन नसकिए मुलुकको आर्थिक अवस्थामा सुधार आउन नसक्ने दाबी गर्दै अहिले विदेशबाट लाखौं संख्यामा नेपाल फर्कनेहरूका लागि स्वदेशमा रोजगार दिने क्षेत्र कृषि नै रहेको प्रस्ट पारे । उनले भने, ‘अहिलेदेखि नै कृषिक्षेत्रमा भएको क्षति कम गर्ने र कृषकलाई कृषि कार्यप्रति आकर्षित बनाउने काम गर्नुपर्छ । यसले गर्दा वैदेशिक रोजगारबाट फर्कनेहरूले रोजगारका लागि ठाउँ पाउनेछन् ।’
अविरल ह्याचरी उद्योगका सञ्चालक शेखर न्यौपानेले लकडाउनका कारण व्यवसाय ठप्प हुँदा घाटा व्यहोर्नु परेको मन्त्री साहलाई जानकारी गराएका थिए । महोत्तरी जिल्लामा कुखुराको चल्ला उत्पादन गर्ने एकमात्र ठाउँ अविरल ह्याचरी हो । करिब ६ करोड रुपैयाँको लगानीमा सञ्चालित यस ह्याचरीबाट अहिले एक लटमा करिब ३ हजार चल्ला उत्पादन हुनेगर्छ । यसअघि पूर्ण क्षमतामा सञ्चालित हुँदा एक लटमा १८ हजार चल्ला उत्पादन हुने गथ्र्यो ।

अवलोकन टोलीमा रहेका भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीका प्रमुख सञ्जीव ठाकुरलाई मन्त्री साहले लकडाउनका कारण मर्कामा परेका कुखुरा पालन व्यवसायीलाई राहत दिन तत्काल सहजीकरण गर्नका लागि निर्देशन दिए ।

यसैगरी मन्त्री साहले शनिबारै धनुषा जिल्लाको उत्तरी भेगस्थित तुलसीको खुश्बु कुखुरा पालन केन्द्रको अवलोकन गरेका छन् । केन्द्रमा टर्की, बटई र स्थानीय कुखुरा पालन गरिएका छन् ।

मन्त्री साहले साना कुखुरा पालनलाई सजिलो बनाउन प्रदेश सरकारले मिनि अटोमेटिक इन्क्वेटर ह्याचर मेसिन उपलब्ध गराउने बताए । यस मेसिनबाट मासिक तीन सयदेखि पाँच सय चल्ला उत्पादन गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button