पश्चिमी वायुको प्रभावले हिमाली र उच्च पहाडी भेगमा भारी हिमपात



मेरो प्रदेश सम्वाददाता
विगतका वर्षमा पुषको पहिलो सातामात्र हिमपात हुने गरेको भएपनि यसवर्ष मंसिरको अन्तिम हप्तानै हिमपात शुरु भएको छ ।


पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । यो वर्ष आठ वर्षयता सबैभन्दा चाँडो हिमपात शुरु भएको हो ।
अघिल्ला वर्षहरुमा पुषको पहिलो सातामात्र हिमपात शुरु हुने गरेको भएपनि यसवर्ष मंसिरको अन्तिम हप्तानै हिमपात भएको हो ।
हिमपातका कारण मुगु, हुम्ला, डोल्पालगायत उच्च पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित बनेकोछ । हिमपातका कारण हु्म्लाको विमानस्थल नै अवरुद्ध भएको छ भने यस भेगका किसानहरु भने हिमपातका कारण बालिनाली फस्टाउने भन्दै खुसी भएका छन् ।
हिउँ परेपछि बाली उम्रने हुँदा किसान खुसी भएका हुन् । कात्तिकमा छरेको जेठासी बाली नउम्रेको बेला यो हिमपात भएपछि जौ, गहुँ र उवाको बीउ उम्रनेछ ।
पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसममा शनिबार (भोलि)बाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि मुलुकभरिको मौसममा सुधार आउनेछ ।

अबको दुई दिनसम्म पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी वायुको प्रभाव तथा मौसमी प्रभावका कारण नै अहिलेको मौसममा परिवर्तन देखिएको बताउँदै मौसमविद्हरुले शुक्रबार दिउँसोसम्म मुलुकभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button