प्रहरी दमनको गुण्डागर्दी शैलीप्रति विभिन्न संघसंस्थाकाे विराेध




पत्रकार तथा सामाजिक अभियन्ता राजकरण महतो माथि भएको प्रहरी दमनको विरोधमा विभिन्न सञ्चार संस्थाहरू द्वारा प्रेस विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेका छन् । मंगलबार दिउंसो महोत्तरीको गौशला नगरपालिकाको प्रहरी कार्यलय परिसरमा कपाली तमसुक सम्बन्धी दुई पक्षबीच भएको छलफलले उग्र रुप लिएर कुटाकुटै भएको थियो । सोही घटनाको भिडियो र फोटो मोबाइलमा खिचेपछि पत्रकार महतो माथि इप्रका मा कार्यरत प्रहरीले गुन्डागर्दी शैलीमा मोबाइल खोसेर फोटो र भिडियो डिलेट गरेका थिए ।


घटना लगत्तै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलले एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई स्वतन्त्रापूर्वक बाच्न र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित भएको घटनाप्रति महासंघले घोर निन्दा र भत्सर्ना गरेको बताए ।

विज्ञप्तीमा भनिएको छ — “समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुदा हुदै प्रहरी परिसर भित्रै सुरक्षाकर्मीले मोवाइल थुतेर फोटो र भिडियो डिलिट गरि पत्रकारमाथि हातपात समेत गरिएको घटना महासंघलाई किमार्थ स्वीकार्य छैन । ”

यसैबिच घटनाको सत्य तथ्य बुझ्न महासंघकी उपाध्यक्ष हेमकुमारी बरालको संयोजकत्वमा सह सचिव रामनारायण महतो र सदस्य धनवीर महतो समेतको तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ ।

त्यसैगरी पत्रकार महतोको समर्थमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सल्लाहकार महेशकुमार दासले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार माथि भएको दुव्यवहारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजिएको बताए । उनले मोबाइल खोसेर समाचारका सामाग्री नष्ट गर्नु प्रेस स्वतन्त्रता माथि प्रहार भएको र उक्त घटनामा संल्घन दोषीलाई कारबाहीको दायरामा ल्याउन सबै पक्षसंग अपिल गरेको प्रेस विज्ञप्ती मार्फत भनेका छन् ।

यसैबिच बर्दिबास नगरपत्रकार सञ्जालका अध्यक्ष विक्रमप्रसाद रौनियारले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीबाट पत्रकारलाइ भएको घटनाको विरोध गरेका छन् । उनले समाचारकालागी संकल्न गरेका सन्दर्भ सामाग्री प्रहरीद्धारा नष्ट गरेर प्रेस स्वतन्त्रताको अधिकार कुण्ठित गरेको बताए । रौनियारले प्रहरीको प्रेस विरोधी कदमप्रति सञ्जालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

पत्रकार महतो नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव तथा अन्नपूर्णा पोष्टका प्रदेश नं. २ व्यूरो ईन्चार्जका साथै ठोस खबर अनलाइ पत्रिकाका प्रधान सम्पादक समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button