अत्याधिक चिसोका कारण प्रदेश नं २ का विभिन्न जिल्लाका विद्यालयहरु बन्द




विगत ३ दिनदेखि प्रदेश २ का विभिन्न जिल्लामा बढेको अत्याधिक चिसोका कारण समुदायिक तथा संस्थागत विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् ।


बन्द भएका विद्यालयहरुमा महोत्तरीको गौशाला नगरपालिकाका विद्यालयहरु रहेका छन् । नगरपालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । केही दिनदेखि शीतलहर बढेपछि विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भएपछि गौशाला नगरपालिकाले नगरभित्रको सबै विद्यालयहरु तीन दिनका लागि बन्द गर्ने घोषणा गरेको हो ।

त्यस्तै रौतहटको गौर, गरुडा, राजपुर र परोहा नगरपालिकाका सबै विद्यालयहरू शीतलहरका कारण ३ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

एक सातादेखि चलेको शीतलहरका कारण यी नगरपालिकाहरूले आइतबार सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोरोना भाइरसको थप जोखिमको सम्भावना उच्च हुन देखिएकाले गौरका सबै सामुदायिक तथा निजी विद्यालय ७ माघ (बुधबार)सम्म बन्द हुनेछ ।

यसैगरी बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोका कारण वीरगञ्जका विद्यालय पनि तीन दिनका लागि बन्द गरिएको छ ।
नेपाल शिक्षक महासंघ र प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल वीरगञ्ज महानगरपालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन माघ ४ गतेदेखि ६ गतेसम्म स्थगित गर्ने सहमति भएको महासंघ वीरगञ्जका अध्यक्ष विनोद मेहताले जानकारी दिए ।

यसैबिच सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकाले नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विघालयहरु तीन दिन सम्मको लागि बन्द हुने भएका छन् ।

शिक्षा समितिको निर्णयबाट आइतबार ,सोमबार र मङगलबार गरी तीन दिन सम्म नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको शिक्षा समितिका दिनेश यादवले जानकारि दिए ।

हनुमाननगर कङकालिनी नगरपालिका भित्र ३० वटा सामुदायिक तथा १५ वटा सस्थागत विघालयहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button