बालिका बलात्कार पछि हत्या प्रकरण ः कहीँ विराेध , कहीँ दीप प्रज्जवलन




महोत्तरीको बर्दिबास १४ शुभम् बस्तिकी ६ वर्षीया बालिका बलात्कार पछि भएको हत्या तथा स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएको सञ्जय न्यौपानेको विरोधमा जलेश्वरका सचेत युवाहरुले मुखमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।


जिल्ला सदरमुकाम जलेश्वरका स्वतन्त्र युवाहरुले युवा नेता आशुतोष झा नवीनको नेतृत्वमा प्रदर्शनमा जनतालाई गोली हान्ने प्रहरीलाई कारवाही गर, संजय न्यौपानेलाई सहिद घोषणा गर, बलात्कारीलाई फाँसी दे, ६ वर्षीया बालिका गुलबसा खातुनलाई न्याय दे लगायतको नारा लेखिएको प्लेकार्ड लिएका थिए ।

युवा नेता झा का अनुसार न्यौपानेलाई प्रहरी प्रशासनले हत्या गरेको भन्दै त्यसको विरोधमा आफूहरुले मुखमा कालोपट्टी बाँधेर प्रदर्शन गरेको प्रतिकृया दिए ।

त्यस्तै, बर्दिबासमा भएको बालिको बलात्कारपछि हत्या गरिएको घटनाको विरुद्धमा बुधबार साँझ सीतापुरभङ्गहा बजारमा समेत विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभा गरिएको छ ।

यसैबिच महोत्तरीको बर्दिबासकी बालिकाको बलात्कार पछि भएको हत्याको विरोधमा बुधबार साँझ जनकपुरको विभिन्न स्थानमा विरोध प्रदर्शन एवं श्रद्धाञ्जली सभा भएको छ ।

जनकपूरमा भएको प्रर्दशनमा पनि बालिका गुलबसा खातुनको दोषी र संजय न्यौपानेलाई गोली प्रहार गरी हत्या गर्ने दोषी प्रहरीमाथि कारवाहीको माग गरेका छन् ।

जनकपुरधामको स्थानीय युवाहरुले बुधबार साँझ रामानन्द चोकमा युवा अभियन्ता सरोज मिश्रको नेतृत्वमा केहिबेर चक्काजाम गर्दै विभिन्न नारा लेखिएको प्लेकार्ड र हात— हातमा मैनवत्तीसहित प्रदर्शन गरेका छन् ।

यस्तै जानकी मन्दिरको प्राङ्गणमा नेपाल तरुण दलका उपाध्यक्ष राकेश विक्रम साहको नेतृत्वमा श्रद्धाञ्जली सभाको गरिएको छ ।

यसैगरी धनुषाकाे ढल्केबरमा पनि बर्दिबासमा भएको बालिको बलात्कारपछि हत्या गरिएको घटनाको विरुद्धमा बुधबार साँझ दीप प्रज्वलन गरिएकाे छ ।

यसैबिच नेपालको संघीय राजधानी काठमाण्डौंमा समेत बलात्कार पछि हत्या भएकी बालिका गुलाबसा शाज खातुनको सम्झनामा उनको आत्माको चीर शान्तिको कामना गर्दै हाम्रो टिम नेपालले माईतिघर मण्डलामा दीप प्रज्वलन गरेका छन् ।

दीप प्रज्वलन कार्यक्रममा सहभागीहरुले महिला रास्ट्रपति भएको देशमा दिनदिनै छोरीहरु बलात्कृत भएर मारिने भन्दै बलात्कारीले उन्मुक्ती पाएर खुलेआम हिडेको देशमा महिलाको अस्तित्व, ईज्जत र बाँच्न पाउने अधिकारहरु कुण्ठीत हुने धारणा राखेका छन् ।

तस्बीर विभिन्न व्यक्तीहरूकाे फेसबुक वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button