नाला व्यवस्थापनको माग गर्दै ढल्केवर बासीले सडक जाम गर्ने



विजय साह
ढल्केवर (धनुषा)
बर्षाको पानीले बर्षेनी डुबानमा पर्दै आएका धनुषाको ढल्केवरका बासीले सडक जाम गर्ने तयारी लाथेको छ ।
बर्षाको पानीलाई सही व्यवस्थापन नगरेको भन्दै ढल्केवरस्थित भक्तिपुर र पुलामी टोलका बासिन्दाले सडक जाम गर्ने तयारी गरेका हुन् ।


यहाँका करिब ७० घर बर्षेनी बर्षाको पानीबाट डुबानमा पर्दे आएको छ् । बर्षेनी डुबानमा पर्दै आएको भएपनि नगरपालिका र सडक डिभिजन कार्यालयले बर्षाको पानीलाई व्यवस्थापन गर्नतर्फ ध्यान नदिएकोले गाउँलेहरु मिलेर ढल्केवर–जनकपुर सडक खण्ड जाम गर्न लागेको छ । हाल ढल्केवर–जनकपुरसम्म निर्माण भइरहेको ६ लेन सडकसँगै निर्माण गरिएको नालाबाट आउने पानीले गाउँ डुबानमा पर्ने गरेको छ ।

नालाको लम्बाइ बढाएर दक्षिणभागमा पर्ने बसही खोलामा पानी झार्न माग गर्दै टोलबासीले मिथिला नगरपालिकाको कार्यालय र सडक डिभिजन कार्यालय जनकपुरलाई पाँच दिनको अल्मिेटम दिएको थियो । उनीहरुलाई दिएको अल्टिमेटम समाप्त भइसकेको र यसबीचमा पानी व्यवस्थापन गर्ने कुनै कार्य नगरेकोले बाध्य भएर सडक नै जाम गर्ने निधोमा गाउँलेहरु पुगेको बताइएको छ ।

अघिल्लो बर्ष पनि सोही नालाबाट आएको पानीले पुलामी टोल र भक्तिपुर गाउँ डुबानमा परेको थियो भने पानीको भेलले एक बिघा घडेरी योग्य जग्गा कटान गरेको थियो । उनीहरुले नालाबाट बस्तीमा हुल्ने पानी व्यवस्थापन गर्न वडा कार्यालय, नगरपालिकाको कार्यालय र सडक डिभिजन कार्यालय गुहार लगाउँदा पनि कसैले सुनुवाई नगरेको जनाए ।

यसैगरी
धनुषाको ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा पर्ने पानी बग्ने कल्भर्ट स्थायी रुपमै जाम गरिएको छ । ढल्केवरको पूर्वचौकस्थित रहेको कल्भर्ट सडकदेखि दक्षिणका बासिन्दाले स्थायी रुपमै जाम गरिदिएका हुन् । उनीहरुले बर्षायाममा कल्भर्ट हुँदै आउने पानीको भेलले घरवार नै डुबाउने गरेकोले कल्भर्ट जाम गरेको बताए ।

कल्भर्ट जाम भएपछि सडकदेखि उत्तरका बासिन्दा बर्षायाममा बस्ती डुबान पर्ने चिन्ताले पिरोलिएका छन् । उनीहरुले बर्षायामको पानी व्यवस्थापन र तत्काल कल्भर्ट खुलाउन मिथिला नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष भक्त बहादुर बलम्पाकी, सडक डिभिजनको शाखा कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएको छ ।

सडक ऐन अनुसार सडकको बीच भागबाट २५ मीटरसम्म व्यक्ति वा सामुदायिक लगानीमा अस्थायी वा स्थायी संरचना निर्माण गर्न नपाउने तथा प्राकृतिरुपमा पर्ने बर्षाको पानी बग्ने कल्भर्ट र नाला जस्ता पुल पुलेसाहरु थुनछेक गर्न नपाउने प्रावधान छ ।

सडकदेखि उत्तरपट्टीका सयौं घरवार बर्षौदेखि बर्षायाममा डुबानमा पर्दै आएको छ । त्यहाँका बासिन्दा बिहिबार बिहान पानी निकासको स्थायी समाधानका लागि वडा अध्यक्ष भक्त बहादुर बलम्पाकीलाई भेट गरेका थिए । भेटको क्रममा २–३ दिन भित्र पानी निकासको समाधान खोजिने आश्वासन वडा अध्यक्ष बलम्पाकीले दिएको एक डुबान पीडित बिशेश्वरप्रसाद साहले बताए ।

सडकको उत्तरपट्टी कतै–कतै नाला निर्माण गरिएको भएपनि पानी निकास नहुँदा उत्तरतिरका बासिन्दा बर्षौदेखि डुबानमा पर्दै आएको छ । चौकदेखि झण्डै एक किलो मीटर टाढाँ रहेको बसही खोलासम्म नाला निर्माण र नियमित सफाइको व्यवस्था गरे मात्र स्थायी रुपमा डुबानबाट मुक्ति पाउने अर्का डुबान पीडित सुदर्शन शर्माले जानकारी दिए । अहिले सामान्य बर्षा हुँदा पनि घरभित्रै पानी हुल्छ । ‘यहाँ बर्षौदेखि यस्तै हालत छ’, ‘कसैले हाम्रो सुन्दैन्’, ‘बर्षौदेखि सम्बन्धित निकायमा गुहार लगाउँदै आएका छौ ।’ तर समस्या ज्यूँका त्यू छ – डुबान पीडित शर्माले दुखेसो पोखे । उनले भने यसपाली त हामी डुब्छौं–डुब्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close