दुर्घटना कम गर्न ट्राफिक प्रहरी ढल्केवरले प्रयोगमा ल्यायो राडार गन



ढल्केवर (धनुषा)
सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरी कार्यालय ढल्केवर धनुषाले सवारी गति मापन यन्त्र (राडार गन) प्रयोगमा ल्याएको छ । ढल्केवरमा पहिलोपटक उक्त यन्त्र प्रयोगमा ल्याएको हो ।


शनिबार ट्राफिक प्रहरी पोष्ट ढल्केवरका प्रनानी जगदिस कुमार सिंहले पूर्व–पश्चिम राजमार्गको ढल्केवरमा सवारी गति मापन यन्त्र ( राडार गन) को प्रयोग गरेर सवारीको गति जाँच गरेको थियो ।

प्रनानी सिंहले सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन जाँच, कागजपत्र जाँचसँगै गति नाप्ने यन्त्रको पनि प्रयोग सुरु गरिएको बताए । ट्राफिक व्यवस्थापनलाई मजबुद बनाउन प्रयोगमा ल्याइएको सवारी गति मापन यन्त्र पूर्वपश्चिम राजमार्ग र जनकपुर सडक खण्डमा प्रयोग गरिने उनले जनाए ।

देशभरमा २९ दशमलब ९३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको छ । राजमार्गमा प्रतिघन्टा ४० किलोमिटर र बजारमा क्षेत्रमा २० किलोमिटरका दरले गाडी हाँक्न सकिने नियम छ । तर, लापरबाहीका कारण नियम विपरीत चलाउँदा दुर्घटना बढ्न सक्ने भन्दै सचेतना जगाउने उद्देश्यले गतिमापन यन्त्रको प्रयोग सुरु गरिएको ट्राफिक पोष्ट ढल्केवरका प्रनानी सिंहले बताए ।

गुडिरहेको सबै सवारीसाधनको गति क्यामेराबाट थाहा पाउन सकिने भएपछि धेरै चालक सचेत हुने अपेक्षा गरिएको छ । केहि दिनको परीक्षणपछि सडक मापदण्ड विपरीत सवारी चलाउनेलाई ट्राफिक ऐनअनुसारको कारवाही गरिने उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close